एक्कासि बारुदको वर्षात आउँछ
प्लेटफर्मको कोलाहल मसानघाट बन्दै गर्दा
शहरमा मुर्दा शान्ति छाउँछ
काँधहरूमा झुन्डिएका सपनाहरू
गन्तव्यको सारथीभित्र
रगतको पोखरीमा पौडी खेल्छन्
प्रतिशोधपूर्ण आतङ्कको बादल
शहरका आकासमा मडारिन्छ
अनिदो सहर अर्धपागलझैँ
कहिले रुन्छ कहिले चिच्याउँछ
चोकहरूमा, गल्लीहरूमा अनि
सिमेन्टका अजङ्ग जंगलहरूमा
पैसा नहुनेहरूलाई भोक श्राप बन्छ
किनेर पाइँदैन निद्रा यहाँ
अमिरहरूको लागि उनकै सम्पत्ति अभिशाप बन्छ

छिमेकी रावणहरूको जालमा परेर
गौँथली लक्ष्मण रेखा तोड्न विवश भई रे
खाडीका मरुभूमिमा उँट चराइरहेको चामेले
अझै चाल पाएको छैन रे
युक्रेनी आकाशमा बारुदको धुँवा मडारिँदा
चापागाउँकी चम्पाको स्वास घाँटीमा अडकियो रे
छोराको हातको अन्तिम घुट्को पानी
पर्खिंदा, पर्खिँदै परमधामको यात्रा बिटुलियो रे
गाजाको अस्पतालको भग्नावशेषबाट छोरो सिधै
आमालाई भेट्न स्वर्ग जान्छु भन्थ्यो रे
तर इजरायलले आफ्नो आकास हुँदै
स्वर्ग जाने बाटो बन्द गरिदिएपछि
आधा बाटोमै अल्झियो रे
खै, कहिले पुग्ला र ऊ

सुनिन्छ हिरोसिमाको बगैँचामा चेरी त फुलेका छन्
तर, बारुदको गन्धले कयौँ दिनदेखि चाँपको रुखमा
बास बसेकी चमेली चरी निदाउन पाएकी छैन रे
रातहरूको विनिर्माण त पक्कै होला

वसन्तले हरिया सपना देख्न छोडे पनि।

इलाम, नेपाल
हाल: अल्बानी, क्यालिफोर्निया, यु. एस. ए.