फ्याँके पुस्तकका कथामृत सबै च्यातेर पानाहरू
काटे मन्दिरका कृपालु लहरा फोरेर छानाहरू
आस्थामा गतिलो प्रहार गरिँदा हाँस्दै थिए दुर्जन
आफ्ना पुत्र ढले गले सुरु भयो आराधना दिन्दिन।।१।।

रैतीका घरको चिराग रणमा होमेर सिद्ध्याइए
भट्टी बाल्न भनेर कल्पतरुका हाँगाहरू नासिए
नाँसे चन्दनको अरण्य मदमा माँतेर निर्लज्ज भै
गर्छन् ध्यान कठै बसेर अहिले ध्यानी बने झैँ सधै।।२।।

भोको पेट हुँदा गए दलितको खोले पिए बौरिए
मैनाको सुकुमार यौवन लुटे आनन्दमा तैरिए
साङ्लाको वनमा जले युवकका सग्ला युवा पाखुरा
धेरै प्राण मिलेर त्यो पलङमा झप्क्यो नयाँ आँकुरा ।।३।।

दोरम्बा विचरा भयो रगतले राताम्य खारा जल्यो
सोझा यात्रु अकारणै दहकिने माडी गवाही बन्यो
झापाको वनमा चिहान खनिए छिन्दै गए गर्धन
व्वाँसाका छलमा परेर डसिए भोका तथा निर्धन ।।४।।

मेची गण्डक वा महेशपुरमा व्यापार भो देशको
लाखौंको बलिदानको रस दिने सम्धी यहाँ बेस’भो
आगोमा समिधा बने शहरका साना ठुला सम्पदा
च्याँखे दाउ परेर दोहन भए सौन्दर्य वा वैभव ।।५।।

आए जो गुणवान भै पवनको झोका बनी वेगमा
नाँसे स्वर्णपुरी चढेर रथमा ढाले धुरी फेदमा
हो गल्ला तरवार वा अबिरको बेच्ने उही मालिक
अन्धो लस्करमा भरेर दृढता ज्यूँदा गरे शालिक ।।६।।