म जान्दिनँ अक्षर कस्तो हुन्छ
म जान्दिनँ शब्द कस्तो हुन्छ
फगत् जान्दछु, कस्ता हुन्छन् मेरा आँसुहरू
शब्द त तिमीले नै कोर्न सक्छौ
अझ भनौँ
तिमीले कविता नै कोर्न सक्छौ
हो, तिमी कविता लेख्छौ
कविता नै लेखिने गरी
तर कहिल्यै लेख्दैनौ कविता
आँसुजस्तो छ त्यस्तै देखिने गरी
कविता लेख्ने खासमा नियम हुन्छ
तर नियममा बाँधिएर खस्दैनन् मेरा आँसुहरू
न सुरमा सिउरिन मान्छन्
न तालमा ताल मिलाउँछन्
मेरा आँसुहरू
प्रतीकमा प्रतिविम्बित हुँदैनन्
विम्बमा पनि त बोल्दैनन्
अनुप्रासजस्तै मिली झर्दैनन् मेरा आँसुहरू
सिँगार तिमी कवितामा जस्तोसुकै शब्दहरू
सिँगारिँदैनन्
रहरलाग्दा बन्दैनन् मेरा कहरहरू
मेरो आँसुको मसीले चल्दैनन् तिम्रा कलमहरू
बेसुरमा खस्छन् बरु मेरा आँसुहरू
बेतालमा बग्छन् मेरा आँसुहरू
यिनै आँसु पोखिन्छन् जसो जसोगरी
तरल शब्द स्वरुपमा
उसै उसैगरी बग्छन् अनायास मेरा कविताहरू
म जान्दिनँ अक्षर कस्तो हुन्छ
म जान्दिनँ शब्द कस्तो हुन्छ
तर मेरै आँसुले लेख्छु म मेरा कविताहरू ।