तिमी पर जाऊ प्रिय
हामी नजिक हुँदा
मेरा आवाज तिम्रो कानमा बिझाउन सक्छन्
मेरा पदचापहरू तिम्रो सुखमा ठोकिन सक्छन्

तिमी गएपछि
म फूलमा हेर्छु, बास्नामा आउनू
जूनमा हेर्छु, उज्यालोमा आउनू
सासमा फेर्छु, प्राणमा आउनू

बस्, मैले छुन नपाऊँ
मैले बाँध्न नसकूँ तिमीलाई
मेरो मैलो तिमीमा नसरोस्
मेरो जुठो तिमीमा नपरोस्

मेरो प्रेमनदीले तिमीलाई नबगाओस्

बस, मलाई नछोड
तर आफैँलाई बिझाउने गरी नछोऊ

आखिर
तिम्रो प्रेम मिसिएको
फूलको बासना
तिम्रो हाँसो मिसिएको
जूनको उज्यालो

तिम्रो श्वासले पठाएको आसभन्दा सुखद्
के हुनसक्ला र प्रिय ?

तिमी पर जाऊ
किनकि
म तिमीलाई प्रेम गर्छु ।