च्यातिएको भोटो फेरिन्छ कि ठान्थेँ
हजुरले संविधान फेर्यौँ भन्नुभयो

म नाम्लो छोडेर

किताबको झोला बोक्न पाउँछु कि भन्थेँ

डोकोमा अझैपनि

मेरो ढाड टाउकोले उठाएसम्मको

घाँसको भारी बोकेकै छु

मेरा कलिला खुट्टामा चप्पल फेरिएनन्

हजुर त पाँच वर्षमा चिनिनसक्नु फेरिनुभएछ

उकालो, ओरालो, पत्थरिलो बाटो

उस्तै छ अङ्कल हाम्रोतिर

 

सुनेकी छु

मेरा बाआमाले

पानी नपिएरै लाइनमा बसेर

हजुरलाई दिएको भोट

हजुरको कोटमा नोटभएर बसेको छ रे

 

हजुर ठूलो मान्छे हुनुभयो रे

हजुरको उचाइँ म कसरी देख्न सक्थेँ

म त

हजुरलाई बोकेर

आकाशमा फनफन घुम्दै आउने

हेलिकप्टर हेर्न आएकी हुँ

 

हजुर भन्नुहुन्छ

पुरानो व्यवस्था फ्याल्यौँ

नयाँ व्यवस्था ल्यायौँ

हाम्रा बालाई सुर्ती खाने पैसा जुटाउन

किन सधैँ धौ धौ होला

हाम्री आमा

अगेनोका चिसो दाउरालाई सल्काउन

आदि प्राण सोतेमा खन्याएर

किन पिलपिलाइरहेकी होलिन्

 

मलाई त अरू केही चाहिँदैन अङ्कल

हजुरका प्रहरीहरूलाई भनेर

हेलिकप्टरको पङ्खा नरोकिउन्जेल

हजुरलाई बोकेर आएको हेलिकप्टर

हेरिरहन पाउने

व्यवस्था मिलाइदिए पुग्छ।

 

झापा,नेपाल