संविधानमा
दीनहीन झस्किन्छ
सपना खडेरी पर्छ
गुम्सिएको सपना
अर्थसङ्कल्पमा छचल्किन्छ
मौन अभिव्यञ्जनाले
ऊ स्वीकृति ठान्छ
उहिल्यैदेखि
विषालु हावा चलिरहेको छ
बेहोसी बेहोराको
संसार बनाउने सपना
अब कदापि चाहिन्न
भन्ने पनि छैनन्‌
सदाबहार कुर्सीको
गनगन कति सुन्नु
तै चुप मैं चुप
कुकार्यका सहयोद्धाहरू
असत्य र झुटको खेतीमा
ठाक्रोमा लहरा लगाउँदै छन्‌
कुशासन लटरम्म फलेको छ
लुकाइ बुझाइ पचाइ आ-आफ्नो
धृतराष्ट्र न्यायकारी बनाएजस्तो
अव्यक्त मौन दोधारेहरू
असल नागरिक होइनन्‌
सुमनका व्यक्त सुरताल
गुमनाम छन्‌
चिहान घाटको शान्ति
खोजेको होइन
स्तब्धता असंवेदनशीलता
निरीहता अबला लाचार
समाजवाद पनि होइन
अकर्मण्यताको छायामा
कति सजिनु
न्यायको आँखा फोडेर
विवेक गुमाएर
सडकको भीडमा कति देखिनु
कस्का लागि संख्या बढाउनु
जताततै उही नियति छ
दोहोरो तेहोरो
तातो न छारो परिवर्तन
मौनताले इनाम पर्खे जस्तो
अन्याय अत्याचार भ्रष्टाचार
अब हामीलाई धेर भो
कसैले भन्दैनन्‌
दलाल मौलाउने समयमा
तिम्रो मौनता अविरल छ
परिवर्तन काँधमा बोकेर
हिँडेकाहरू खै कता बिलाए
को कहाँ बेपत्ता भए
तर ऊ झन् झन्
कुर्सीमा आँखा गाडेर
गजधम्म छ
अब जाग्ने समय हो
पहिला आफू अनि अरुलाई
विस्तारै जगाउनु छ
देश देशावर बनाइँदै छ
दलालको हातबाट
सम्पदा अक्षुण्ण राख्नै सकिएन
खोस्नै सकिएन
सदाबहार स्वाहा स्वाहा
गर्दै चुपचाप बसेका छौँ
उल्टै दलालको
जयजयकार गर्दैछौँ ।

महालक्ष्मी-०१, ललितपुर