बा
अभावको विराट् अखाडामा
परिबन्धले पस्केको अथाह प्रलयहरू
सकी नसकी थेगिरहे
कलिलो काँचो काँधलाई सकस दिएर
बैरीले थोपरेको मानसिक बर्बराता
झेल्दा-झेल्दै
उमेर र जीवनको रङ स्पष्ट
बुझ्न नपाएर शैशवकालमै
बेमौसमा फुलेको फूलजस्तो
अल्लारे वैंश
जोवन र जीवनको नयाँ मोड
मोडमा ठोक्किन पुग्यो
एउटी नारीको प्रेम
प्रेमको आभामा बसेको सुन्दर गृहस्थ
बा र आमाको प्रेम
अनि प्रेमको नासो
जीवन बाँच्दै गरेको म !
-बा
तन्नेरी हुन नपाउँदै पाक्को मान्छेको जीवन
जिउनुलाई प्रारब्ध सम्झेर
पसिनाको नदीमा आँशु मिसाएर
जीवनको घुम्ती र थुम्कीमा
विरहको सुस्केर सुसेल्दै
पहाड जसरी निर्धक्क उभिए
आफ्नो लागि, आफ्नाहरूका लागि
बा-
मेरो निम्ति सबैभन्दा सुरक्षित ठाउँ तिम्रो काँध
जहाँ राखेर तिमीले मलाई
संसार देखायौ, दुनियाँ चिनायौ
प्रेमको बाटोमा स्नेह साथ हिँडायौ
थुप्रै-थुप्रै ठाउँहरूमा डुलायौ
बा
घन र छिना समाउँदा-समाउँदा
छियाछिया भएको हत्केला बोकेर
खुदको हत्केलामा कोरिएका भाग्यरेखा मेटाएर
मेरो जीवनको भाग्य र भविष्य निर्माण गर्न
निर्णायक हिरो बन्यौँ
आफ्नो रहरहरूलाई रक्ताम्य बनाएर
युगको संघर्षशील मैदानहरूमा
आफूले आफैँलाई बलि चढायौ
आफ्नाहरूको निम्ति
आफ्नो खुशीको “कली”
निमेषभर नसोची हाँसीहाँसी अर्पण गर्यौ
बा !
मैले प्रत्यक्षदर्शी बनेर
तिमीले भोगेको दु:ख देख्न नपाए पनि
मलाई थाहा छ
तिमीले कसरी बाँच्यौ बाँच्न पाएको जिन्दगी
तिमी धिक्कारहरूमा एक्लै हिँड्यौ
लान्छनाहरूमा आफ्नै छायालाई साक्षी बनायौ
डुब्न आँटेको बाउ-बाजेको
अस्तित्व बचाउन खोज्दा-खोज्दै
तिमी आफ्नैहरूको भिडमा एक्लो भयौ
आँखा रुझाउनु, पेट खाली भएर पटुकाले बाँध्नु
कसैको मनमा दया पलाएर
उसले लाउँदै गरेको जडाउरी लुगा लाउन पाउनु
खाली निधारमा नदेख्ने गरी देउताले लेखेको
नियमित नियति थियो
त्यहीँ नियतिलाई आफ्नो भाग्य ठान्थ्यौ
बा !
तिमीले तिम्रो बालाई कति प्रेम गर्‍यो थाहा भएन
तर तिम्रो छोराले तिमीलाई गर्नुपर्ने
प्रेम धित मरुन्जेल गर्न नपाउँदै
तिमी अन्तिम सत्यको प्रेमी बन्यौ
तिमी सून्यतामा विलीन भयौ
जस्लाई सम्झनुसिवाय केही गर्न सकिन्न
छैन मसँग तिम्रो एउटा सादा तस्बिरसम्म
जस्लाई हेरेर मन बुझाउनु सकूँ
बा-
जन्मदै गरेको नयाँ जीवन, नयाँ परिवेश
उकुसमुकुस अतृप्त मेरो मन
अरु-अरु बा-छोराको प्रेम देखेर
ईर्ष्याको बादल
भावनाको आकाशभरि मडारिन्छ
अनि तिमीलाई सम्झन्छु
आधा बाटो छुटेको बा-छोराको कारुणिक कथाले
मथिँङ्गल हल्लाई दिन्छ
छोराले बालाई गर्ने प्रेम
बाले छोरालाई गर्ने स्नेह
तिम्रो र मेरो जीवनमा
सदाको निम्ति भयो अधुरो ।


पाँचखाल-११,काभ्रेपलान्चोक
हाल-लिमासोल,साइप्रस