बिहान झिसमिसेमै
कोही आउँछ्न् घण्टी बजाउँदै
कोही तारा गन्दै
कोही हलो बोकेर
कोही सूर्योदयपछि
कोही हलो बोकेर
कोही छाता भिरेर
अरु बाँकी रित्तो बनेर
कित्लीमा चिया तात्तिँदै छ
अनि सुरु हुन्छ
तेरो – मेरो
पक्ष – विपक्ष
वाद – विवाद
समर्थन – विरोध
सहयोग – असहयोग
झोले – हनुमान
आदि इत्यादि उपमा सहितको
चियाको चुस्कीसँगै
पाखुरा सुर्कासुर्कीसम्म
क्रम चलिरहन्छ
बोलचाल बन्द हुन्छ
तँछाडमछाड चलिरहन्छ
जो रित्तो थिए
अपेक्षामा रहेका
बहसको विषय
उत्पादन, कृषि
पूर्वाधार
पर्यटन
सशक्तीकरण
समाज उत्थान
श्रम – श्रमिक
ज्याला
यस्तै प्रकृतिको रहोस्
तर …
मात्र स्वार्थको
चुलो – चौका चलिरहन्छ
आशाको दियो
निभिरहन्छ
चुस्की रित्तिने क्रममा
शान्त माहोलको
भावभङ्गिमा बन्दै
गइरहेको हुन्छ
निरर्थक र निरुत्तर गोलमेचले
नतिजाविहीन फुर्सदिलो
बिहानी सत्रको झिल्कोलाई
निभाउँदै
अर्को बिहानीको उदयलाई
पर्खिरहेको हुन्छ
चियापसले
मुस्कुराइरहेको हुन्छ ।
सुनसरी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 






