खै यो शून्यता भनुम् कि सुस्तता?
तिमीलाई देखेपछि हुने यो बेग्लै अनुभूति !
साँच्चै तिमी को हौ, कहाँबाट आयौ ?
अनि यो तरङ्ग पेश गरेऊ ?

तिमीलाई एकटक हेरिरहँदा मेरो मनमा उब्जिरहेका
यी अनवरत सोचहरू, ढुकढुकीका लयहरू
के हो यो ? कसरी वर्णन गरुँ ? भन न ?
कुन शब्दमा उतारूँ म, भन न ?

आकाशमा उडिरहेका ती चराहरू
के सोचेर उडिरहेका होलान् ?
के अनुमान लगाउन सक्छौ तिमी ?
साँच्चै ती चराका आत्मभावहरू
बुझ्यौ भने
मभित्रका लयहरू पक्कै बुझ्नेछौ तिमीले ।

म चाहन्छु:
त्यो दिन, त्यो क्षण
छिट्टै हामी समक्ष आइपुगोस्
अनि सोधोस् हामीलाई-
‘तिमीहरू भेटिरहँदा,
तिमीहरू बोलिरँहदा,
आलिंगनबद्ध भइरहँदा,
पाइतला र गोरेटो बनिरहँदा
कहिल्यै आफैँलाई बिर्सेका छौ ?’

उड्दै आएको चराले यसो भनिरहँदा
जरुर हामी सोचमग्न हुनेछौँ
अनि डुब्नेछौँ, अनि बिर्सिनेछौँ
– आफ्नै अस्तित्वलाई बिर्सेर भनौं या एकअर्काको परिचयलाई ?