त्यो दिन पक्कै आउनेछ
जुन दिनको बारेमा
हामीले सोचेकै छैनौँ
अझ, सोच्न चाहेकै छैनौँ ।
संविधानमा सबै जातजाती समान भनिएको छ भने
ऊ कसरी अछुत भयो ?
संविधानमा ‘धर्मनिरपेक्ष राष्ट्र’ भनिएको छ भने
उसको धर्म कसरी उपेक्षित भयो ?
हामीले कहिल्यै बुझ्नै चाहेनौँ
कसैको धर्मको सम्मान गर्नु भनेको
आफ्नो धर्मले सम्मान पाउनु हो भनेर !
सबै जातजातीलाई समान देख्नु—
धर्म हो भनेर ।
ढुक्क हुनुस्
त्यो दिन पक्कै आउनेछ
जुन दिनको बारेमा हामीले सोचेकै छैनौँ
र अझ सोच्न चाहेकै छैनौँ ।
ऊ नपसेकै कारण
हाम्रो घर केही समय पवित्र होला !
उसले नछोइदिएकै कारण
केहीदिन हामीले पिउने पानी चोखो रहला !
केहीदिन उसले आफुलाई तल्लो जातकै मानिदिएला पनि
र
भर्खरै फक्रिन थालेको उसको अन्र्तजातिय प्रेम
केही खुट्किला माथि चढेपछि ओइलाएर झर्ला !
तर कति दिनसम्म ?
कहिलेसम्म ?
त्यो कानुन—
जसले पिछडिएको वर्ग, शोषण र दमनमा परेकाहरुलाई
न्याय दिँदैन !
त्यो धर्म
जसले मान्छेलाई मान्छे गन्दैन !
त्यो मन
जस्ले मायाको अर्थ र सम्बन्धको गहिराई बुझ्दैन !
ती विद्वानहरु
जसले पुर्खालाई दोष दिएर
आफु ठूलो जात हुनुमा गर्व गर्छन् !
र जातिय भेदभावलाई मौन समर्थन् गर्छन् ।
महोदय,
तपाईँ आँधी छेक्नलाई तयार हुनुहोला
तर ढुक्क हुनुस्
ऊ तुफान बनेर आउनेछ
सुनामी भएर आउनेछ ।
एकदिन पुग्नेछ ऊ
त्यो ठाउँमा
जहाँबाट शोषण, दमन र अत्याचार देखिँदैन !
अझ भनौँ त्यतातिर हेर्नै खोजिन्न !
पक्कैपनि एकदिन ऊ
यो देशको शासक बन्नेछ
संविधान संशोधन गर्नेछ
र
घोषणा गर्नेछ, बाख्रालाई राष्ट्रिय जनावर !
त्यसपछि रक्षा गर्ला बाख्राका सन्तानहरुलाई !
खसी बोका काट्नेलाई गोली हानेर हत्या गर्ला
वा त वर्षौँसम्म जेलमा कोच्ला !
सोच्नुस् त
त्यसपछि के होला ?
हो पक्कै आउनेछ त्यो दिन—
जुन दिनको बारेमा हामीले सोचेकै छैनौँ
अझ सोच्न चाहेकै छैनौँ !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।