न उनले जन्मायो मलाई
न उसले हुर्कायो उसलाई
न उसले बिर्सियो त्यसलाई
न त्यसले सम्झियो मलाई
आज एउटा जन्जिरको
खाडलमा बसेको
मेरो समाज
मभन्दा
माथि उठ्न सकेको छैन्
मभित्र हुर्किएको
मेरो समाजमा
एक्लो आकाशको
हेल पुछ्रे ठान्छ उसलाई
उसको त्यही अठोटले
उसलाई एक्ल्याएको छ आज
न विश्वले उसलाई सम्झ्यो
न उसले विश्वलाई सम्झियो
न उसले आफन्लाई सम्झियो
न आफन्तले उसलाई सम्झिए
केवल ऊ उसलाई सम्झिन्छ
ऊभित्र एक्लोपन छ
उसका हरेक मस्तिष्कमा
मात्र म सम्झन्छ
समुन्द्रमा ह्ववेलले
ठुलो प्राणी हुँ भनेजस्तो
जमिनमा हात्तीले मै ठुलो
हुँ भनेजस्तै
ऊ आफूलाई ब्रमाण्डमा
एक्लो ठान्छ
त्यही भएर उसले
आफूलाई जङ्गलको
राजाझैँ ठान्छ
केवल आलङ्कारिक
न त्यसले साहसिक काम गर्यो
न उसलाई कसैले साहसिक भन्यो
त्यो त रोवर्टजस्तै थियो
केवल लगाम लगाएको घोडाझैँ
अनि तिनै बाका सन्तानझैँ
बा बा भन्दै ठिट लगाई
बा कै बखानमा
समय बिताउने उरन्ठेउला
युवा झुन्डजस्तै
उसलाई बा चाहिएको छ
बाभित्र बाँच्दा
उसको स्वतन्त्रता गुमेको
उसलाई कुनै मतलब छैन
केवल उसको आवाजमा
बा बा मात्र आउँछ
किन कि ?
ऊ सधैँ मभित्र हुर्किएको छ
उसले स्वभिमान बिर्सिएको छ
उसलाई इमानको खाँचो छैन
न उसलाई कसैको खाँचो छ
केवल ऊ
बाभित्र लुकेको छ
ऊ बोल्न खोज्छ
तर बोल्न लर्बराउँछ
किन कि
ऊ कसैको लागि बिकिसकेको छ
ऊ पैसामा बिकेको छ
ऊ विवेकमा बिकेको छ
ऊ त्यही
पगरीमा डुबेको छ
गाईको पुच्छर समातेर
बैतर्नी तर्न खोजे झैँ
त्यही बाको फेरमा
समातेर अबिर पैरिरहेका छन्
जसले शिरमा कफन बाँधेर
स्वतन्त्रतामा नारा लगायो
आज त्यही योद्धा
म भित्रको अनकन्टार
जन्जिरमा फसेको छ
केवल मभित्र हराएको
आलङ्कारिक राजाजस्तै ।
साल्पासिलिछो, भोजपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।