मैले हिँडेर पर पुग्दा
मेरा पैतलाका डोबहरू तिमीले देख्न नपरोस्
म उडिरहँदा माथि माथि
तिमीलाई मेरो तौल थाहा नहोस्
चामल केलाएर कनिका झिके झैँ
म आफैँबाट आफैँलाई केलाएर
स्वयम् आफ्नै सुन्दर स्केच बनाउने छु
पर पुग्दा थाक्दा हुन् आफ्नै हातखुट्टाहरू
म आफैँलाई सम्झाउँदै
तय गरिरहनेछु गन्तव्यहरू
मलाई घेर्दा हुन् तिम्रा यादहरूले
जसरी घेर्छन् पहाडहरूले उपत्यका
यादहरूमै म जमे पनि
उपत्यकामा जमेर बसेको बादलजस्तै
म चुपचाप चुपचाप
तय गरिरहनेछु यात्राहरू
याद नै नआए झैँ गरी
बन्द गरेर मनका झ्यालहरू
तिम्रा प्रेमिल शब्दहरूलाई
बनाउने छैन म ढुकढुकी
टाढा टाढासम्म एक्लै हिँडिदिन्छु
थाहा नपाएझैँ गरी
केही नभएझैँ गरी
बरु सक्छौ भने तिमी
त्यतै फालेर जाऊ
तिमीले र मैलेसँगै देखेका सपनाहरू
मेटिदेऊ बरु
तिमीले मेरो मनसम्म गरेको यात्राका पदचापहरू
मैले त त्यहीँ बाटो हिँड्नुछ
जुन तिमीले कहिल्यै नहिँड्ने भनेर छोडेको थियौ ।
काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।