तीसको दशकका गम्भीर कवि हुन् – डा.विष्णुविभु घिमिरे । अत्यन्त जोखिमपूर्ण समयमा पनि कलात्मक काव्य सिर्जना गर्न सक्ने घिमिरे- उज्यालोका पर्याय हुन् ।
शान्त, धीर र सौम्य स्वभावका घिमिरे वि.सं. २०१० सालमा माता तोरणकुमारी घिमिरे र पिता हरिनारायण घिमिरेको कोखबाट बरबोट इलाममा जन्मिएका हुन् ।
उनका सिर्जनामा दूरदराजका क्रन्दन, पीडा, अभाव र अप्ठ्याराहरू छन् । चिन्ता, चासो र विविध चरीत्रहरू छन् । मानिसभित्रका उकुसमुकुस, आक्रोश, जुगुप्सा, मुमुक्षा, र जिजीविषाहरू छन् ।
उनका कविताहरू सामाजिक गतिशीलताको द्याेतक हुन् । कवितामा पृथक व्यक्तित्व निर्माण गरेका घिमिरेको काव्योपलब्धि नेपाली आधुनिक कविताका लागि एक अक्षय सम्पत्ति हो ।
मानिस र मानिसइतरका सपनाहरूमाथि कविता कोर्ने घिमिरे – लोकतन्त्रका चम्किलो आलोक पनि हुन् ।
विष्णुविभु घिमिरे कुशल सम्पादक / प्राध्यापक र कुशल व्यवस्थापक पनि हुन् । लामोसमय साझा प्रकाशनको ‘गरिमा’ पत्रिका सम्पादन गरेका घिमिरेले गरिमाको गरिमा उँचो राख्न उल्लेखनीय भूमिका पनि खेले ।
नेपाल प्रज्ञा-प्रतिष्ठानको पूर्व-उपकुलपति घिमिरे – थोरै कविता लेखेर पनि मानक कविको रूपमा नेपाली साहित्यमा स्थापित छन् ।
प्रस्तुत छ – वि.सं. २०३७ सालको ‘समीक्षा साप्ताहिक’मा छापिएको र ‘कठघरामा उभिएर’ कवितासङ्ग्रह – २०४५ मा [ साझा प्रकाशन ] सङ्गृहीत ‘हरायो’ कविता ।
हरायो
• विष्णुविभु घिमिरे
आकाशमा परेवाहरूको
निर्भय कावा खाने गति हरायो
बैंसमा फक्रेका आँखाहरूमा
जुहारी नअल्झदै हरायो
आँखा आँसुमा हरायो
ओठ त्यहीँ छ तर मुस्कान हरायो ।
चारैतिर उठेका छन् षड्यन्त्रको शिखण्डीहरू
विश्वासको भीष्म डराएको छ
कपटी शकुनिहरूको इशारामा
सम्पूर्णता अन्धो भएको छ
साँढेहरूको दाइ छ
मियो हराएको छ
बिहानको सग्लो राष्ट्रियता
बेलुकी हराएको छ
बेलुकीको सग्लो नागरिकता
बिहान ब्यूँझिदा हराएको छ
आरती गर्दागर्दैको देवता हराएको छ
हिँड्दा-हिँड्दै सडक अनायास हराएको छ
बग्दा-बग्दैको नदी एक्कासि हराएको छ
हराउनु एउटा परम्परा भएर उभिएपछि
अचेल राष्ट्र हराउँदै- हराउँदै केही बाँकी छ
बाँकी राष्ट्रमा पनि
वृद्धको लौरो हराएको छ
जवानहरूको साहस लर्खराएको छ
नानीहरोको भविष्य बौलाएको छ
छन् त आँसुमा डुबेका धमिला आँखाहरू छन्
छन् त तमसुकमा चढिसकेका
खेतबारि र घरहरू छन्
राष्ट्रियता बाँच्नुको मोह भन्नू
सत्रौं चोट खपेको मन छ
नागरिकता बाँच्नुको अधिकार छ भन्नु
बगर भएको छाती छ
बाहिरबाट यति सुन्दर, शान्त र स्निग्ध राष्ट्रलाई
कसरी भित्रभित्रै मकाउँदै गएको होला भन्नू
कसरी निरन्तर अन्योलको भुँवरीमा फस्तैछ होला भन्नू
नभनूँ अहिले जिब्रो हराएको छ
सडकमा अनियंत्रित डाेजर र रोलरहरू दगुरिरहेकाछन्
सयौँ गाडी वारपार गरिरहेछन्
सडक नाघ्नेहरू होसियार
यात्रा भर्नेहरू होसियार
सम्पूर्ण नागरिकहरू होसियार
ट्राफिक हराएको छ !
***
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।