अचेल श्रमिकहरू
सामन्तवाद विस्तारवाद
साम्राज्यवाद मुर्दावाद भन्दैनन्‌
श्रमिक श्रमिकसँग डराउछन्‌
समाजवाद डाँडाको जुन बनाएर
कता कता सल्लाह गर्दैछन्‌
उहिले मुख्यासाप जिम्दारसाप
वरपिपलको छायामा बस्दै
शालिग्राम छुवाउदै
घितकस गराउँथे
बुढीऔँलो तेलमुसोमा चोप्दै
नेपाली कागजमा दायाँ बायाँ
चेपाएर तेरो काम भयो भन्थे
सहीछाप गलपासो थियो
जायजेथा हडप्ने मेलोमेसो थियो
सामन्ती व्यवस्थाको परिवर्तित रुप
अचेल वित्तीय सहकारी भएका छन्‌
वचतकर्ताको उठिबास गर्दै
सञ्चालक ऋणिक मालामाल छन्‌
कस्तो विडम्बना !
पुर्खाले जोतेको हलबल्ल
बँधुवा श्रमिकसँगै ओरालो लाग्यो
पडम पालोपैँचो आरसार
सहकारीमा बन्धक छ
महङ्गा स्कुल पढाएका
दरसन्तान विदेशिएका छन्‌
अचेल मेड इन अम्रिका
मेड इन क्यानाडा
मेड इन अष्ट्रेलिया
मेड इन जापान……भएका छन्‌
कोही पुस्ताको बिरासत खोज्न
घरिन थालेका छन्‌
पुर्खाको पौरखी आँगन खोज्दै
नैतिकताको धर्ती रोज्दै
भौँतारिदै आएका छन्‌
मातृभाषा विहीन बहुरङ्गी
गाउँमा नालीबेली सोध्दै छन्‌
अम्रिकन, अष्ट्रेलियन, क्यानेडियन…हरु
खण्डहर घर बाँझो खेतको हक खोज्दै
नागरिकता बनाउन
ऊ आँगनको तुलसी मोठ
खर्कमा भैँसीको गोठ
गैरीखेत सल्लेरी डाँडाको
रातामाटा टाँडो सम्झिदै छ
पुस्ता हराएको खोजिमा
चिरकट्टोमा उहिलेको वंशावली
मिलाउन खोज्दैछ
कहाँ पाइनु नाताकुटुम्ब
गाउँको सबथोक गुमाउदै
मधुमास भित्रिएको छ
मान्छेहरु
सुख-सन्तोष-शान्ति-समृद्धिको
खोजिमा हराएका छन्‌
एउटा भुतपूर्व नेपाली
पुर्खाको आँगनमा
सांस्कृतिक धरोहर हराएर पछि
गाउँमा भित्रिएको छ ।

• महालक्ष्मी-०१, इमाडोल, ललितपुर