एकदिन मैले घुम्दै हिँड्दा भेटेँ मान्छे अजम्बरी
लाग्यो मलाई ऊ त यहाँ बाँच्दो रैछ सधैँभरि
कुरा ठूला गर्दो रैछ अग्लो जिउडालको
सोचेँ मैले यो मुन्छे त रैच आफ्नै तालको
धन दौलत सम्पति त थुपार्नु थुपारे छ
गर्नु दुःख गरी उसले धन्न आफैँलाई मारेछ
ज्ञान विज्ञान विद्या अनि पढाइको त्यो फुर्ती
लुकीलुकी खाँदो रैछ चुरोट खैनी सुर्ती
साँझ बिहान पाए जति रक्सी पिउँदो रैछ
दुनियालाई बिर्सिएर एक्लै जिउँदो रैछ
उफ्रिएर धुरीधुरी नाच्छु जस्तो गर्छ
सानातिना देख्यो भने भाँच्छुजस्तो गर्छ
ठुलाबडा देख्यो भने धनुष्टङ्कार पर्छ
थाहा छैन उसलाई आफू कति बेला मर्छ
खाने ठाउँ पायो भने थालै चाट्न खोज्छ
जाने ठाउँ पायो भने गालै चाट्न खोज्छ
जस्तो तस्तो मान्छे हैन नामै अजम्बरी
बाँच्छुजस्तो गर्छ ऊ त यहाँ सधैँभरि
खान पाए सबै कुरा आफैँ खान खोज्छ
जान पाए सबैतिर आफैँ जान खोज्छ…।

रिजाइना, क्यानाडा