समय !
खोपेर छातीमा प्रेमको निशानी
आगो किन्न आएको छ
पर्ख, उसको मुटुलाई जल्न नदेऊ
त्यहाँ अर्को पनि मुटु बसेको छ

सरकार !
पगालेर पत्थरहरूमा
किन पठाइरहन्छौ राहत
र जोगाइदिन्छौ सकिँदै गएको उसको धुक्धुकी
बरु, पर बसेर हेर
एउटा मान्छेलाई कतिबेर छट्पटी चल्न सक्छ
र दबाइदेऊ आफ्नो हातको ट्रिगर
र हेर कतिसम्म बग्न सक्छ रगत

आफन्त !
निरन्तर काटेर कुराहरू
भो थुकको डोरी नबाट्नु
बरु उसलाई झुण्डाइदिनु
र घोषणा गर्नु
उसले मरेको नाटक गरेको हो

छिमेकी !
बनाएर सबै सम्बन्धहरूलाई बञ्जर
धेरै नखोज आफैँ सकिने गरी
बरु लगाइदेऊ साँधहरूमा पर्खाल
र भन– उसले आफैँले बारेको
मेरो घरसम्म आइपुग्ने यो बाटो

साथी !
ओढेर आफन्ती खोल भो नबाँच यसरी
नढाँट कहिल्यै आफूले आफूलाई
बरु भन
धोका दिँदादिँदै एउटा मान्छेलाई
मैले फेरि धोका दिएर आएको छु

यति सहेपछि उसले
बोकेर नाइनलको डोरी
सिलिङमा झुन्डिनुअघि
तपाईंहरू याद गर्नुस् त
उसले जीवनको बारेमा केके सोच्थ्यो होला

समाज विज्ञानले फेरि
मर्नेहरूलाई बहादुर करार गर्दैन
भो आत्महत्यामा जीवन नदेख ।

बकैया –४, मकवानपुर

मसान उपासक मकवानपुर बकैया ४ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँका अक्षर आराधन गजलसङ्ग्रह (२०७९) र मानचित्रमा देश कवितासङ्ग्रह (२०७९) प्रकाशित छन् । उहाँ फर्क साहित्यिक अभियानका अभियन्ता हुनुहुन्छ भने झरना साहित्यिक परिवार मकवानपुरका सचिव हुनुहुन्छ । त्यस्तै उहाँ प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।