पल्लाघरे नरेशले
मलेसियामा बाटो बनाएछ
हिजो फोटो हालेको थियो
ठुलोकान्छाले नि
ठुलो पानी जहाज बनाएछ
सबै चरणका फोटा हेरियो
हिजोआज गाउँमा
तोरी छर्ने
कोही तन्देरी भेटिएनन्
तरकारी बेच्न भारतीयहरू
आएछन्
बाटो बनाउन नि
विदेशीहरू नै आएका छन्
हिजोआज गाउँ सबै
बुढाखाडा र बालबालिका
रुङ्गिरहेछन्
अनि
मेरो देश कसले बनाउला ?

सितेकी छोरी अष्ट्रेलिया
भरतेको छोरो कोरिया
रामेकी छोरी जापान
हरिमायाकी छोरी अमेरिका
आइतेको छोरो यूके
अवस्था यस्तो छ
छोरो परदेशमा
बाउ खाडीमा
आमाको भिसा लाग्दैछ रे
घर हजुरबाको जिम्मामा
बारी सबै बाझैँ छन्
उतैको पैसोले
उतैको चामल किन्यो
र चलायो घरपरिवार
अनि भनिदिनोस्
कसले बनाउँछ मेरो देश ?

आफ्नै देशमा
किन नबनेको होला
त्यो जवान बच्ने मेसिन
किन बन्न नसकेको होला
स्थायी सरकार
किन बन्न नसकेको होला
पारिवारिक जमघट
किन उन्नति नभएको होला
यो कृषि
त्यो उद्योग
किन फस्टाउन नसेको होला
यो आम्दानीको बोट
त्यो युवाको सपना
अनि कहिले बन्ला देश
कसले बनाउँछ मेरो देश ।

लालबन्दी – ४, सर्लाही