आमा बिनाको घर पनि
घर जस्तो नै नहुने र छ यार
घर घर नै हुन्छ
तर खै के नपुगेको नपुगेको जस्तो
पाकेको तरकारीमा नुन हाल्न बिर्से जस्तो
भर्खरै दूध खान छोडेको बकेर्नो बाच्छोलाई
सधैँभरिका लागि गाईबाट छुटाएजस्तो
लेख्दालेख्दै कलमको मसी सकिएको जस्तो
पीडामा चुरोट बाल्दा ठ्याक्क सलाईको काँटी
सकिएजस्तो

आजकाल आमा बिना भान्सा पनि अलि अर्कै लाग्छ
भाडाकुँडा उस्तै छन्
कुनामा कुचो र फोहोर उठाउने कुरा गर्दै छन्
कराई पोख्दै छ कुकरलाई
धेरै दिनदेखि चम्किन नपाएको पीडा
झ्याल सुनाउँदै छ महिनौँदेखि
घामको किरण कोठामा पार्न नपाएको दुख पर्जालाई
चिनी र चियापत्ती गाउँदैछन् विछोडका गीत
एउटै ताप्केमा प्रेमले उम्लिन नपाएकोले
सिरकको खोल र तन्दा
खुसफुसाउँदै छन् सरफ र साबुनले नुहाउन नपाएको कथा
सबै सबै पोख्दैछन्
उनी बिना आ.. आफ्नो कथा

बेला बेला छिमेकी आउँछन्
आमा घरमा आएकी छैनन् सोध्छन्
अनि सम्झन्छु
ती साना साना कुरामा आमासँग परेको झगडा
कुन चाहीँको छोरीसँग मस्केर बोल्दैछस् भनी
हानेको थप्पड
दारी फुल्ने बेला भइसक्दा पनि
म लुगा लगाउँदै गर्दा गाडी छुट्छ भनी
खुवाइदिएको भातको गाँस
बिहे नगर्दै त यस्तो छ पारा
बिहे भएपछि त के गर्लास् मलाई भनेका गाली
तेरा कविताले कहिलेकाहीँ त मलाई नै रुवाउँछ भनेको बोली
हरेक रात , हरेक बिहान उठाउँदा लाग्ने किचकिचे बोलीको गोली
हुक्का मात्र खान्छस्
यसलाई पैसा दिन पर्दैन भनेर बुबालाई कराएको बोली
सबैका सबै याद आउँछन्

मेरो भाइबर , मेसेन्जर , टिकटक
सबै बिग्रियो सबै मिलाइदेन छोरो भनेर आउँथिन्
यत्रो लाइक भइसकेको थियो
काँ थिचे , काँ थिचे यस्तो पो भन्छ , के भो हेर्न छोरा
टिकटक नै नचल्ने भयो भन्दै सताउँथिन्
आजकाल त आमाले “नवीन छोरा” भनी
मोबाइलमा सेभ गरेको नाम पनि भुलिन् जस्तो छ
अलि टाढै बस्छिन् आजकाल, न त था छ
उनलाई यो घरको हालत कस्तो छ
कपाल पालेर कविता भन्दै हिँड्छ छोरो
आमाले छोराको अनुहार नै बिर्सिइन् जस्तो छ

आमाको मुख हेर्न मन लागे
मामाको मुख हेर्नू भन्थ्यौ
तर आमाले त छोराको अनुहार भुलिन् जस्तो छ
कहिले सोध्दैनस् मेरो हालत भन्थ्यौ
आज धेरै याद आयो आमा
ठिक छौ ? भन त तिमीलाई कस्तो छ ?