पहिले
स्वच्छ थिए यी प्राकृतिक वहावहरू
निर्मल, कन्चन र शुद्ध थियो जल
घटघट पिइन्थ्यो तिर्खा मेटाउन
नुहाइधुहाई गर्न र खाना पकाउन
रमणीय जलविहार र जलक्रिडास्थल
रङ्गीबिरङ्गी पर्यटक-पक्षीहरूको विचरणस्थल
थरिथरि माछा, गंगटा र कछुवाको बासस्थान
जलकुम्भी र कमलले बिछ्याएको सुन्दरता
कलकल बगिरहेको पानी र खोलाको सुसाहट
रुखवृक्ष र वनस्पतिले ढाकेका हरित् किनारा
हरित बगरमा चर्न, खेल्न, पानी पिउन
र रमाउन आएका मृग र मयुरहरू
एकान्त किनारमा बसेर
योग र ध्यानमा मग्न मुनिहरू
लुकामारी खेल्दै
प्रेमलापमा तरङ्गित तरुणतरुणीहरू
ढुङ्गा फालेर पानीमा तरङ्ग उठाइरहेका
बल्छी थापिरहेका
ढिकबाट हाम फाल्दै पौडिरहेका
र बालुवाको घर बनाई
मस्त खेलिरहेका केटाकेटीहरू
खोलेसाग र निहुरो टिपिरहेका गृहिणीहरू
कस्तो सामीप्य मान्छे र प्रकृतिको
कति सुन्दर जीवनजगत् र भू-आकृति
र कति मनमोहक थियो प्रकृति !
अहिले
फैलिंदै गएको छ बगर
दुब्लाउँदै गएको छ पानीको वहाव
शिरदेखि पुछारसम्म
गाउँबस्ती र शहरबजारका
ढल र फोहोरमैला
बोतल र प्लास्टिकका थैला
गुमुत, गोबर र सिनोहरू
बोक्न अभिशप्त छ
पवित्रताको प्रतीक ती नदी
बदलिएको छ निर्मल पानीको रङ
फैलिएको छ दुर्गन्ध परपरसम्म
नाक छोपेर छि: छि: भन्दै
भागदौडमा छन्
तिनै फोहोर गर्ने मनुवाहरू पनि
शहरको सौन्दर्य हेर्न
सम्पदा अवलोकन गर्न
पर्या-संस्कृति र मानव-प्रकृतिको
सम्बन्ध एवं सहअस्तित्व केलाउन
सृष्टिका रचना र सिर्जनाहरू
लय र सुसेली भाकाहरू
नजरै चोर्ने अनुपम दृष्यहरू
मनैभरि सजाउन
आएका आगन्तुकहरू
जलचरको वास उजाडिएको
जलपक्षीको क्रिडास्थल थलिएको
थलचरको पानीमुहानमा विष घोलिएको
पवित्रता लुटिएको
सुगन्ध हराएको
रुप र गुण विकृत भई मैलिएको
सुन्दरता बर्कोले छोपिएको
लाज छोप्न नसकेर
लज्जाबोधमा लतारिएको
दृष्य हेर्न विवश छन्
गिज्जाइरहेजस्तो लाग्छ
सफा र स्वच्छ शहर लेखिएका
होर्डिङ बोर्डहरूले
र खोतलिरहेजस्तो लाग्छ
नदी सभ्यताको अर्थ र इतिहास
तेर्स्याउँदै प्रश्नवाचक चिह्न
मानव सभ्यताको वर्तमान र भविष्यप्रति ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।