पानी पिएँ
आँसु पिएँ
गरिबी पिएँ
तर
कर्म, नाङ्गो शरीर
अनि
भाग्य पिउन सकिनँ
देशमै बसेर
ठूलो अवसर खोजी हिँडेँ
भाग्य र कर्म पिउँदै
लाज छोप्न सक्ने झिनो आशा बोकेर
लाहुर पस्न तयार भएँ
सपनाको देश अमेरिकातिर
अमेरिका त साँच्चै नै
सपनाकै देश थियो मेरा लागि
कानुनी रुपमा न त थियो
अध्ययन र अनुभव
या त थियो डिभी लट्रीमा नाम
केवल थियो
ठूलो सपना
अमेरिकामा पुगेर
भविष्य रोप्ने
गोडमेल गर्ने
हुर्काउने
फलाउने, फुलाउने
अनि लाखौँलाख कमाउने
दिन रात नभनी लागेँ म अमेरिकातिर
गैरकानुनी बाटो रोजेर
आकाशकै छानो, पातालकै बिछ्याउनामा
धेरै रातहरू काटेर
दुःख र हण्डरको हावाले पेट भर्दै
आँसु पिएर तिर्खा मेट्दै
सपनाको देशतिर खुट्टाहरू लम्काइरहेँ
अनुहार हेरेर म भोकाएको
थाहा पाउने आमाका आँखाहरूको दृश्यबाट
टाढा टाढा हुँदै थिए
अघि बढ्ने क्रममा
समयको डुङ्गामा सवार भएर
जीवनको यात्रामा भविष्य खोज्दै
म सधैँ पछि फर्किन नसक्ने गरी
अगि बढिरहेको थिएँ
युवा अवस्थालाई लात मार्दै
पाँच वर्षसम्मको निरन्तर यात्रापछि
बल्ल थाहा पाएँ, म मलेसियाको
जेलमा रहेछु
अनि सम्झेँ
मेरो शरीर त केवल
दुःख र हण्डर खाँदै
पानी पिएर बाँच्न
जन्मिएको रहेछ
भावि पनि कति निष्ठुरी भइदिएछ
मेरै भाग्य लेख्ने घडीमा ?
जेलबाट त जसोतसो निस्किएँ
अनि फर्किएँ आफ्नै जन्मभूमितिर
जन्मभूमिमा मेरो स्वागत गरियो
माला लगाएर
शंख बजाएर
दागबत्ती सल्काएर
किनकि म
रातो बाकसमा
फर्किएको थिएँ
भारीका भारी श्रद्धाञ्जली दिइए मेरा नाममा
हजारौंले हेरे मेरो जलिरहेको शरीर
अनि गरे माल्यार्पण जिउले नथाम्ने गरी
रोए बाग्मतीजस्तै खोला बग्ने गरी
अनि बल्ल थाहा भो
मरेपछि मात्र पो
दुःख देख्ने भएछन्
कलिका यी
बाँदरका पुस्ताहरू
लाग्यो, नमरी मेरा वरिपरि
मलाई हेर्ने
कोही एक मात्र थिए भने
तिनलाई नै मेरो जीवनको
ऊर्जा सम्झिएर
न त लाग्ने थेँ
त्यो सपनाको देश
मेरा सपनाहरूलाई
पूर्णविराम लाउन
न त फर्किआउने थेँ
रातो बाकसमा प्राण सकेर
म त बरु
आफ्नै बारीमा
आलु, अदुवा, अम्लिसो
अकबरे उमारेर
तिनको फूलसँगै
रोप्ने थिएँ
मेरो भविष्य
अनि उदाउन
दिनेथेँ
मेरो भविष्यलाई
सूर्यको किरणझैँ
तर के गर्नु
अब ढिला भैसक्यो
लगन पछिको पोतेझैँ
हे मेरा नेपाली दिदीबहिनीहरू
अनि नेपाली दाजुभाइहरू
तपाईंहरूले चैँ नदेख्नु ल
विदेशिने सपना
विपनामा त विदेशमा पनि
रुखमा पैसा फल्दैन रे
सुख किन्न पाइन्न रे
बुवाआमाको मायाको अभावमा
तड्पिनु पर्छ रे पल पल
‘टन्नै कमाएको छस् रे
एउटा गत्तिलो फोन पठा त मलाई
भन्ने साथीलाई कचोरा किनेर
लु बस् मन्दिर परिसरमा
यो कचोरा थापेर
अनि भिक्षा माग
तँलाई गत्तिलो फोन किन्न चाहिने रकम’
मात्र भन्न सकिन्छ रे
किनकि
दिन रात काम नगरे खान पुग्दैन रे
पानी, बत्ती, घरभाडा
समयमै नतिरे घरबेटीले
निकालिदिन्छ रे
घोक्रेठ्याक लगाएर
मेरो विदेशी साथीले भनेथ्यो
मैले पो उस्का कुरा
पत्याउँदै पत्याइनँ
र त निदाउन पुगेँ, कहिल्यै उठ्न नसक्ने गरी
कुम्भकर्णको भन्दा गहिरो चिरनिद्रामा
तर तपाईंहरू चैँ भाग्य खोज्न
विदेशतिर नउड्नु ल !
ठूलो भाग्य खोज्न विदेश उड्दा
मेरोझैँ सासै उड्न सक्छ
कर्म गर्ने आशै उड्न सक्छ
जे जति सकिन्छ नि
देशमै कमाउनू ल !
अनि त्यसैमा रमाउनू ल !
म त अल्पायुमै अलप भएँ
तपाईंहरूचैँ पूरै जीवन बाँच्नू ल !
हाल: क्यालगेरी, क्यानाडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।