अनुहारै / अनुहारको यो जंगलमा
म आफ्नै अनुहारको इजलासमा उभिएर बयान दिइरहेछु
वर्षौं/वर्ष अघिदेखि लडिरहेछु कहिले नजित्ने मुद्दा
केवल आफ्नै विरूद्धमा

मलाई मेरै अनुहारको लालपुर्जा
र मलाई मेरै रगतको नागरिकता चाहिएको छ यतिबेला
दस्तखत गरेर अनुहारभरि समयले ल्याप्चे लगाइरहेछ
म आफ्नै अनुहारको बकपत्र पढिरहेछु
यो अनुहारै अनुहारै अनुहारको घना जंगलमा हराइरहेछु
म आफ्नै विकृत अनुहारको साक्षी बस्न सक्दिनँ
म आफ्नै घृणित अनुहारको कहिले साथ दिन सक्दिनँ
मलाई मेरै अस्तित्वको परिचय चाहिएको छ
मलाई मेरै छायाको मुचुल्का उठेको हेर्न
मन छ
म आफ्नै अनुहारको हकमा लडिरहेछु
म आफ्नै अनुहारको रङको विवादमा
बल्झेको छु
□ □ □ □ □

ऐनामा आफ्नै अनुहारको भागबण्डा लगाएर निसाफ मागिरहेछु
म आफ्नै अनुहारसँग हिसाब मागिरहेछु
यो अनुहारै अनुहारको अँध्यारो घना जंगलमा
म आफ्नै अनुहार हराएर अनुहारविहीन
भएको छु
यो युगले मेरो हराएको अनुहारको किन
खोजी गर्न मान्दैन
मात्र टोलाइरहन्छ कालो गर्तमा
म आफ्नै अनुहार हराएर अनुहारविहीन भएर भौँतारिरहेछु
म समयको श्रापित निर्जन शहरमा ।

२१/४०८ वर्तमान बस्ती
पुतलीसडक, काठमाडौं