एकादेशको कथा भएको छ,
शान्तिप्रिय नेपाल अनि बुद्धका कोसेलीहरू आज
त्यसैले अब सुशासन त यहाँ
एउटा महत्वकांक्षी सपना भएछ,
मृगतृष्णाको भ्रम रहेछ।
जीवन र मरणको दोसाँधमा अल्झिँदै
नियतिको पीडामा बल्झिँदै,
सुशासन र सुव्यवस्था त यहाँ उखान बनेको छ।
बचेखुचेका आस्था र विश्वासका
अस्तुहरु जम्मा पारेर हामी
सुशासन, सुव्यवस्था अनि शान्तिप्रिय नेपालको
ग्रहशान्तिको लागि महायज्ञ गरौँ।
शहीदका सपनाहरू
विषाक्त युगका परमाणुसँग
रगतले मुछिएका माटोका आर्तनादहरू
जनताको गरिबी, महँगी र अशिक्षाको माझमा
झांगिएको बेला
नेताहरुको घुस कमिसन र दलालीतन्त्रमा
अल्झिएको बेला
निर्दोष जनताको रगतले रंगिएको प्रजातन्त्र
स्वतन्त्रताको नाममा हत्या र आतंकसँगै
दन्किएको प्रजातन्त्रलाई
सुशासन र सुव्यवस्थाको महापुराण
सुनाउनु परेको छ।
नातावाद र कृपावादको जालोमा
डेबिट क्रेडिट खोज्नेहरू
एउटा विवाद हार्नुभन्दा
साथी गुमाउन खोज्नेहरू
विश्वास गर्न नजान्नेहरू
सम्बन्धको बजारभाउ बुझ्नेहरू
सम्बन्धको पिँजडामा,
स्वार्थी अस्तित्वको सुगा पाल्नेहरू
विश्वास गर्न नजान्नेहरू
गहतका झोलमा जात फाल्नेहरू
सस्ता भलाद्मी, फोस्रा आदर्श
व्यस्त दुनियाँका पैसावादी मान्छेहरू
स्वार्थी मानिस भ्रष्ट दुनियाँ
मानवतालाई बन्दगी राखी
क्रेडिट अकाउन्ट खोल्नेहरू
सबै सबै ती सबैलाई
हराएको राष्ट्रियता र लुटिएको प्रजातन्त्रको
महापुराण सुनाउनु परेको छ-
सुशासन सुव्यवस्था अनि शान्ति…!
टुहुरो बस्तीको अलाप अनि
विधवाहरूको निरीह भाखा सुन्ने नाममा
थुप्रै रुन्चे अनुहारहरूमा
खुमेनीको आत्मा बोकेका हिटलरहरू पस्ने गर्छन्।
अनि दोहोरिन्छ स्वतन्त्रता सुशासन र सुव्यवस्थाको कथा!
खै कहाँ छ यहाँ राष्ट्रियता,
अनि खै कहाँ छ यहाँ प्रजातन्त्र ?
ए देशका ओहोदेदार भद्रहरू हो
भन कहाँ छ यहाँ राष्ट्रियता?
ए प्रजातान्त्रिक विचारधाराका विद्वानहरू हो
भन कहाँ छ यहाँ प्रजातन्त्र?
खोज्न नसके गएर सोध
सोध देशका ती निमुखा जनतालाई,
अशिक्षा र अमानवताको चपेटामा पिल्सिएका
पिल्सिएका हर नेपाली नागरिकहरुलाई,
अनि गाँस बास नपाएर मुग्लान पस्न बाध्य
बाध्य ती निमुखा सर्वहारालाई
सडक सडकमा भौतारिएर जिवन बिताउने
ती निरीह खाते बालबालिकालाई,
बम्बैका कोठीमा आफ्ना अस्मिताहीन नारी अस्तित्व
लिएर बाँच्न विवश
विवश ती नेपाली चेलीहरूलाई,
गएर सोध, आफ्ना कलिला हात र मस्तिष्क
जुठा भाँडा माझ्न व्यस्त
व्यस्त ती होटलका कान्छाकान्छीलाई,
कारखानामा शोषित ती सुकुमार बालमजदुरहरूलाई,
अनि साहुमहाजनका रछ्यानमा समर्पित,
समर्पित ती दु:खी गरीबहरूलाई,
अनि सोध, पशुतुल्य नारकीय जीवन बिताउन बाध्य
ती पिछडिएका ग्रामीण महिलाहरूलाई,
पुरुषार्थको प्रदर्शनबाट आफ्ना इच्छा आकांक्षाहरू
कुण्ठित पारेर बस्न बाध्य
बाध्य ती मर्माहत नारीहरूलाई।
अनि मात्रै थाहा पाउने छौ यो देशको
सच्चा प्रजातन्त्र!
त्यसैले ती सबै सबैलाई सुशासन र सुव्यवस्थाको
महापुराण सुनाउनुपरेको छ।
अनि फेरि दोहोरिन्छ त्यो-
सुशासन र सुव्यवस्थाको कथा।
(निजामती कर्मचारी संगठनको आयोजनामा संचालित “सुशासन” विषयक राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त कविता)
ठेगाना: बर्दघाट-१०, नवलपरासी
हाल: ओस्लो, नर्वे।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।