बा आँटीमा बसेर
खोकीरहेका छन्
सुन्न नसकिने गरि
चिमोटिन्छ छाती
टन्टलापुर घामले सुकेका
गर्हाझैँ देख्छु बालाई
पटपटी फुटेर रगताम्य भएका पैताला
मल नपाएको कारण ओइलिएको बीउझैँ
चाउरिएको गालामा सुकेको आँसुका टाटा

नदीले सीमा पार गरेपछि
असल छोरा बन्न सकिन कि
बनेँ उजाडिएको डाँडा झैँ
बाका हात समाउँदै दौडन्छु
आफ्नो खर्कहरूमा
नौरङ्गी डाँफेको बोलीमा रमाउँदै
फक्रेको गुराँस निर्धक्क चुम्दै
गलैँचा बिछ्याइएको जस्तो धानका
बालासँग लहलहाउँदै
हरियो दुबो शीतसँग मडारिएर
खितखिताइरहेको दृश्यमा
चुर्लुम्म डुब्दै
गुलाफ मुस्कुराउँदै भरिरहेछ सुन्दरता
फूलहरू मुस्कुराउँदै भरिरहेछ सुन्दरता
फूलहरू फक्रिँदै देखाई रहेछ शिष्टता
फुल्नु र झर्नु दुबै सुन्दरता रहेछ भन्दै
सँगीहरूसँग मृगशावकझैँ बुर्कुसी मार्न पुग्छ
रुखहरू हुरुक्क हुँदै नदीको प्रेममा उभिन्छ
अनि नदी साउती मार्दै रुखको भेषमा उभिन्छ
यिनको मितेरीमा साथ दिँदै साउती मार्दै
हावा र आकाश सुसेल्छन्
च्याङबा अतालिँदै बाका नाडी समाउँछ
प्रश्न तेर्साएर
ए बा के थाकेकै हो त मान्छेदेखि सृष्टि
नत्र किन बोल्दैन देवता …

ढुङ्गारूपी निर्दयी छाती बोकेर
अब नबोल्ने नै हो त सृष्टिको लागि
सभ्यताको लागि
प्रकृतिको लागि
पर्यावरणको लागि
जीव र जगतको लागि
तर बा
आफूले रोपेको पीपललाई अगाँल्न
सभ्यताको जननी नदी किनाराको साक्षी बस्न ।

गौशाला काठमाडौँ