काग कराउँदै छ
पिना सुक्दै छ
घरपालुवा होइन
जङ्गली पनि होइन
कौवा शहरिया भएका छन्‌
भीमकाय भवने बस्तीमा
घरबार बनाएका छन्‌
शुभ अशुभ भाषा अर्थ्याएर
मानव बस्तीमा पुजिन्छन्‌
इज्या भन्नु हुन्थ्यो
उहिले एक दिन
आँगनको रुखमा
कौवा कर्कश स्वर बोल्यो
चिन्ता मनाँ थ्यो
तेसै साल तेरा बा खसे
कौवा च्याँठिएर बोल्दा
आमा झस्किनु हुन्छ
कौवा भगाउनु हुन्छ
काठमाडौँमा कौवा
बगालका बगाल छन्‌
रात आधारात कराउँछन्‌
शुभ अशुभ कस्ले अर्थ्याउँछ
मानौं कौवा संसद हुन्‌
आफ्नो प्रशस्ति गाउँदैछन्‌
गणतन्त्र ल्याउँदाको
योगदान भट्याउँदैछन्‌
भ्रष्टाचार नगरेको
दलील पेश गर्दैछन्‌
सहकारी नलुटेको भन्दैछन्‌
संसद्मा कुर्सी उठाएर
रोष्ट्रममा जान नदिएर
बेल घेरेर सत्तापक्षलाई छेक्दैछन्‌
इज्याले भनेजस्तो अचेल
राजाले बोल्दा काँसो फुट्दैन
कौवाले बोल्दा अनिष्ट हुँदैन
इज्यालाई था छैन
अब कराउने युग हो
बेस्सरी कराउने घाँटी सुकाएर
कुरा सुनाउन अचेल
सडक जाम गर्न पाइन्छ
संसद्मा कुर्सी तोड्न पाइन्छ
कागजस्तै मान्छे चलाख छन्‌
कागले कोयलीको अण्डा सेकेजस्तै
मान्छे पनि औधी चलाख छन्‌
कागजस्तै मान्छे सर्वहारी छन्‌
कागजस्तै मान्छे पनि
भालेपोथी आलोपालो गरी
ओथारो बस्छन्‌
रसियन साम्यवाद जस्तै
श्रममा समानता खोज्छन्‌
मेरी इज्यालाई के थाहा
गणतन्त्र भनेको दीनहीनलाई
कागलाई बेल पाकेजस्तै
हर्ष विस्मात हो ।

महालक्ष्मी-०१,
इमाडोल, ललितपुर