म सौदावाज आफैँलाई भुलेर
शान्ति खोज्न मन्दिर धाउँछु
उषामा भर्खर जीवन लिएर आएका
फूलरुपि ईश्वर निमठेर चढाउँछु
मैले कहाँबाट सिकेँ
कार्सिनोजन बालेर म धर्म गर्छु
आफ्ना असन्तुष्टि पोखेर
मृगतृष्णापूर्तिको कामना गर्छु
खोज्दिनँ म आफूभित्रको शून्य
शून्यता पछिको अनन्तता
अस्ति माओले मागे
हिजो चेग्वेभाराले मागे
आज भ्लादिमिर मन्दिरमा रगत माग्दै छन्
भोलि कुनै क्लियोपेट्रा आउलिन्
खै शान्ति कहाँ छ ?
यहाँ सबै केही माग्न आउँछन्
यो मन्दिरमा खुसी कसले छाडेर गएको छ ?
यो मन्दिरमा शान्ति कसले छाडेर गएको छ ?