बैरागी काइँला

बैरागी काइँला नेपाली कविताको मूर्धन्य हस्ताक्षर । यो समयको सफल काव्य-नेतृत्व । तेस्रो आयाम [ इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काइँला ]को एक प्रवर्तक ।
वैचारिक कवि / लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धानमा संलग्न अध्येता ।

उहाँका काव्यिक गहिराई, सघन बौद्धिकता, सौन्दर्यात्मक लेखनशिल्प अनि मिथकहरूको प्रयोगले कविता कालजयी बनेका छन् ।
थोरै कविता लेखेर जनमानसमा स्थापित उहाँका काव्यकारितामा बिम्ब, प्रतीक, साङ्केतिकता र नूतन प्रयोगहरू प्रसस्त गरिएका हुन्छन् ।

उहाँ बि.सं. २०६६ देखि २०७० सम्म नेपाल प्रज्ञा-प्रतिष्ठानको सफल कुलपतिका रूपमा चिनिनु हुन्छ ।

पाँचथर जिल्लाको पौवा सारतापमा माता सरस्वती नेम्बाङ र पिता खड्गबहादुर नेम्बाङको कोखमा बि.सं. १९ ९६ साउन २५ गते जन्मिएका ‘तिलविक्रम नेम्बाङ’ नै नेपाली साहित्यमा ‘बैरागी काइँला’को नाउँ वैशिष्ट्य बन्न पुग्यो ।

प्रस्तुत छ आजभन्दा आधा शताब्दीअघि [ बि.सं. २०३० सालको रुपरेखा पत्रिका अंक ५ पूर्णाङ्क १४९ मा ] छापिएको ‘गङ्गा नीलो बग्छु’ शीर्षकको प्रयोगवादी कविता ।

……………………………………………

गङ्गा नीलो बग्छु

• बैरागी काइँला

 

यात्री –

भि
न्छु

कुदेर
.
.
.
.

बुद्धिसम्म भित्र-बाहिर
कति पुगिनँ-छु-ले नित्य शिलाखण्ड उभिन्छ

यौटा लहर हात उठेर सगर नछोई पात खस्दछ
सीमाहीन नीलिमा लहरले उफ्रेर
छालहरू उज्ज्यालो हिर्काउँछन् सङ्गमर्मर भएर पहरा छु

तिहीँ छु ।

आँखाहरू निस्केर कुद्छन्……….

मोमबत्तीको प्रकाश थोप्लाहरू पोखिँदै अविरल
रात पोखिँदै, प्रात: पोखिँदै, दिन पोख्खिँदै अविरल

आँखाहरू लहरले छाल कुद्छन्…….

सिन्का लहर टिपेर टोक्दै दाँत कोट्याउँदै
आफू-खोजेर हिँडिरहेको आफै यात्रीले बाटो
नागबेली चिरन्तन बाटो जङ्गलमा भीर पहराहरू

बग्छु –

बगिरहेर – छु

!

वर्तमान पूर्वस्मृति यो पिएर पश्चात् बगेर नदी घेर्दछ
गिलासभित्र भरि छचल्किन्छ__ रहन्छ
गिलासभित्र भरि जलराशी
जलको टापु जलमय
गतिमान् गतिहीन
टापूको न भूत न भविष्यत् सधै छ
यो यहीँ छ

म यहीँ छु

निरीह वञ्चित र शब्दमा जीवित कथानकले पर्खालभित्र छु
न जुत्ता खोलेर
न टोपी फुकालेर
विद्रोहको शुभारम्भ गर्न सक्छ

क्रान्ति रातो कम्बल झर्केर बिमारीले पन्साउनु र युद्व
फलामको खाटमाथि विस्कुट भाँच्नु, फगत
गिलासको विरूद्व बिमारीको क्रुद- रुग्ण आक्रोश जीवन यो
सधै मान्छे सालिक सडकमा तर्साउँछ

न रिबिन काटेर
न ढुङ्गा गाडेर
स्वतन्त्रताको शिलान्यास सालिक गर्न सक्छ,

म उम्कनु सत्तिनँ फुकेर

घायल र प्रतिबन्धित मान्छे
एकै ठाउँ
हग्छ
मुत्छ
सुत्छ

म तेत्ती
जीवन तेत्ती

काँचको गिलास पारदर्शी छिरेर
गिलास देख्तिनँ शरीरले पग्लेर गिलास बिलाउँछु
शरीरले अङ्ग अङ्ग पग्लेर

रक्साले भरी गिलास हेर्छु गिलास देख्तिन गिलास चाल पाउँछु
पिएर रित्तो गिलास हेर्छु गिलास देख्तिनँ गिलास चाल पाउँछु
छाम्छु स्पर्शले ‘ठोक्छु बजाउँछु घण्टीले कुदेका स्वरहरू

उचालेर दुवै हातले छाम्छु
जीवन सुमसुमाउँछु आङभरि कोमल भुवाहरू …….

कालोभित्र पोखरीमा आँखा ठोक्किएर डुब्दछ
आवाजले पौडिएर सुनौला माछा सागरमा ऎनाभित्र कुद्छन्
खेल्दन् कुद्छन्
नीलो पन्साउँदै लहर लहर ….

हत्केलाले आलो स्पर्श टिपेर सुनौला खेलाउँछु
माछा सागरमा ऎनाभित्र कुद्छन्
खेल्दछन् कुद्छन्
बुद्विले सूर्य बोलेर राँकोले हेर्छ हेरेर देख्दैन
ढुङ्गामा ठोक्केर लड्दै बालुवा टेकेर कुद्छ
बगर बगर
गढ-तीर
कालोभित्र पोखरीमा आँखा ठोक्किएर डुब्दछ

मेरो माछा पौडिन्छ पोखरीभित्र तल
हत्केलाले आलो स्पर्श पक्रेर म चाल पाउँछु
चालपाउनु-ले दिन उज्यालो सधैं टेवलमा बल्दछ

टेबलमा काचँको गिलास छिरेर पारदर्शक
टेबल काँचको गिलास म पारदर्शक पग्लिएर बिलाउँछु
रिक्त्त रित्तिएर रित्तिन्छु
आह ! …म कति कठिनले छैन भएर बिलाएर-रहन्छु ।

न च्यातेर
न पौडेर
न आँखामा ऐना हिर्काएर फुट्छ शून्य, टुक्राहरू
न त शून्यता फुट्छ-ले कालो उभिन्छ गिलास रित्तो बिटमाथि
डिल अग्लिन्छ चिसो हिमालय

हिमाच्छादित शैलशिखर टाढा उज्याला छन् बाहिर
दुर्भेद्य, दुर्लङ्ध्य पहाड पर्वत उज्याला छन् बाहिर
उज्यालो ज्योति हल्लाउँदै डाक्दछ-भित्र

हिँडछु
जुत्ताले पैताला टाँसेर बाटो खस्छ, टकटक्याउँदछु
बटुल्दछु
अलिकति रहेर म हिँडछु

यात्री

यात्रीले एक्लो हिँड्छु
जुत्ता फुकालेर अफालेर फेरि आह ! …
सडक यात्रीले जुत्ताभित्र

यात्री

कोलाहलदेखि भागेर भीडभित्र एक्लो पुग्छु

भि

न्छु

!

फुत्केर गएको माछाको आलो स्पर्श टाँस्सिएको छ हत्केलामा
चेतनाले थपथपाउँदै आफूलाई चाल पाउँछु
एक्लो उभिन्छु ।

भीडभित्र
जुलुस टोपीले अग्लो थपेर सडक हिँडछु
आकाश हुनु-भेटेर, सक्तिनँ
खस्दछु

भीडभित्र
जुलुस जुत्ताले तल टेकेर सडक हिँड्छु
धरती हुनु-छोएर, सक्तिन
खस्दछु

पहाड भत्केर टोपीले थिच्छ
सल्बलाउँछ गिलो जुलुस लत्रङ्ह अजिङ्हरले कोलो चुहिन्छ

थिच्छ कालो निरन्तरताले चिसो छ असफलता
जुत्ता ऐँठन पर्‍यो मलाई…
जुलुस कुदेर भाग्छु-सक्तिन उठ्नु स्वतन्त्र
समग्रले एक्लो स्वतन्त्र

पखेटाले छोपेर भुल्टुङ म-लाई चोर औँला दिएर
भीडभित्र डोर्‍याएर एक्लो उभिन्छ,
म जुलुस घि / स्रि / र /हे /को / छु /

यात्री

क्षण क्षण अर्को त्यही यो क्षण
आङमाथि कुम्लो त्यही यो सँधै छ
अविराम यो वर्तमानले डाँडा ढल्किएर कुममाथि
कुम्लो यो सधैको छ,

बोक्छु

बटुलेर म-लाई
सम्पूर्ण म-लाई सिङ्गो मुठा पारी छहराले कुदेर
नदी-नालाले, पहाड-पर्वत शङ्खध्वनिले सुगन्धित
फूल बगेर
नि:शब्द कलरव सीमाहीनमा चुर्लुम्म फाल हान्छु
जलधारा

यौटा तरङ्गले स्वर टिपेर नीलो खेद्दछ
कुदेर खेद्दछ पछ्याउँछु कुदेर नीलो आवाज

भित्र

वीणाको तार झङ्कृत बज्दछन् स्वर लहरीले
क- आवाज …
तिमी- आवाज …
आवाज …का स्वरहरू कुदेर इन्द्रेणीले फाटक उघार्छ
नीलो उधारेर शून्यले काख दिन्छ
झ्वाम्म पस्दछु

रेखिँदै तरङ्गले स्वरहरू …पानी …पानी …पानी …

गङ्गा नीलो बग्छु …………..

***