स्कुल नपढे पनि
जिन्दगी धेरै पढेका
हजुरबाका शब्दहरूमा
हजुरआमाका भाषाहरूमा
आफ्नै थिए व्याकरण

बिहान हामी ढिलो ‘उठ्ने’ गर्थ्यौं
हजुरबाको सबेरै ‘उठ्नी’ बेला हुन्थ्यो
उफ्रेर हामी आँगन ‘भत्काउने’ गर्थ्यौं
हजुरआमा लिपेर ‘टाल्नी’ गर्नुहुन्थ्यो

हामीले स्कुलका गृहकार्यमा
लगाएका एकलखहरू
हजुरबा र हजुरआमाले दैन्दिनी गृहस्थीमा
बिगारी बिगारी ‘ईकार’ लाइदिनुभो, भन्ठान्थ्यौँ
होइन पो रहेछ !

स्कुलमा गुरूहरू भन्थे-
‘पत्ता लगाउन सक्नु पर्छ
ठाउँ ठाउँमा छन् सुन खानीहरू हामीकहाँ…’
होला होला पनि भन्ठान्थेँ
होइन होला पनि भन्ठान्थेँ
हजुरबाहरू / हजुरआमाहरू

रहेछन् !
सुन ‘खानी’हरू, ‘निल्नी’हरू र ‘पचाउनी’हरू
ठाउँ ठाउँमा रहेछन् !

डेनमार्क