कुनै समय थियो-
गुहार खोलामा हरियो जिन्दगी बग्थ्यो

ऊ बेला गुहार खोला मुस्कुराउँदै झर्थ्यो
महाभारतका हाँगा हाँगाबाट

आइपुग्थ्यो चुरेको आँगनमा
र पस्थ्यो ‘झ्याउरे’ र ‘सखिए हो’को लयमा
साना साना बाटा पछ्याउँदै भित्र भित्रका गाउँसम्म
र भन्थ्यो ‘पहिले तिमी अनि बबई हुँदै सागर।’

आउँदा आफूमात्र के आउँथ्यो गुहार खोला
पोका पुन्तुरामा ल्याउँथ्यो
पहाडको चिसो हावा
ल्याउँथ्यो खेतका गह्रा र बारीका पाटालाई कोसेली
गम्लङ्ग अँगाल्थ्यो पटपटी फुटेको बिजौरीको छातीलाई
मीठो चुम्बन दिन्थ्यो कलेटी परेको मानपुरको ओँठलाई

ऊ बेला त पानी बनेर
बाह्रैमास बगिरहन्थ्यो गुहारखोला

तर
अचेल गुहार खोलामा पानी बग्दैन

कहिलेकसो तातिएको आकाशको पसिना बग्छ
कहिले पिल्सिएको धरतीको आँशु बग्छ
कहिले बगरको घाउबाट पिप बग्छ
कहिले आक्रोश बग्छ तातो हावा बनेर
कहिले ब्यथा बग्छ शीत लहर बनेर
अचेल गुहार खोलामा खासै पानी बग्दैन

गुहार खोलाको कोखिलामा लपक्कै उम्रिएका ऐँजेरूले
गाँजेपछि आफ्नो छाती
पहिले जसरी रसाउन छोडिन् महाभारत
बरू आफ्नै गर्भ गृहभित्र लुकाइरहिन्
आफ्नो प्रिय सन्तति स्रोतलाई

अचेल हरेक बर्खामासमा जब आकाश रून्छ
मधेसका कंक्रिट फाँटहरूलाई हेरेर
तब सम्हालिन सक्दैन गुहार खोलाको आँखा
केही पीडा, केही बेदना
केही आक्रोशको गीत सुसेल्दै आउँछ
र त्यही गीतमा सम्मोहित बनाएर
नचाउँदै लैजान्छ केही धर्सा ऐँजेरूहरूलाई

तर बुझ्नै सकिरहेका छैनन् गुहार खोलाको गीत-
पखेटा उम्रिनै लागेका कमिलाहरूले ।

(गुहार खोला- दाङको तुलसीपुर उप महानगरपालिका भएर बग्ने खोला)