आफ्नो कुवाको मूल सुकेपछि
छोरो पानी किन्न मुगलान गएको छ
क्षितिजसम्म फैलिएको फाँट
पटपटी फुटेर बाका पैतालाजस्तै भएको छ
छेउको खहरे सुसाउने आशा ज्यूँदै छ
छोरो पानी किन्न मुगलान गएको छ

भाषण गर्नेहरू भन्छन्
‘के फल्दैन यो माटोमा ? बीउ राख्नुपर्छ
खेतको डिलमा बसेर गोरस चाख्नुपर्छ
अमृतै होस् पराइको चुस्की चाहिँदैन
एक गिलास महीले आँत भिजाऔँ
मेक्सिकोको मदिरा अनि हल्याण्डको ह्विस्की चाहिँदैन’

तर देशमा पानी पाइँदैन, ह्विस्की पाइन्छ
पानी चाहिँदैन, ह्विस्की चाहिन्छ
रुख गिँडिन्छ, लकडी बेचिन्छ
गाउँमा हिँडिन्छ, लडकी बेचिन्छ
तराई, पहाड, हि..मालका कुरा गरिन्छ
सुक्दै गएका नदी, खोला, तालका कुरा गरिन्न

मलाई त नदी सुसाएको पनि सुँक्सुँकाएको जस्तो लाग्छ
झरनाको आवाज पनि रोएजस्तो लाग्छ
विक्षिप्त हुँदै बतासले छोएजस्तो लाग्छ

के तिमीलाई चिरिएका पैताला र फाँटहरुको दृष्यले पोल्दैन ?
पानी किन्न मुगलान भासिएको छोरो उतै नासिएको खबरले छुँदैन ?
नाङ्गिएका हिमाल देख्दा मन विचलित हुँदैन ?
लौ न कोही त बुझिदेऊ यिनको रोदन!
––––