मन्त्री भए मुलुकका अति व्यङ्ग्यकार
टुक्का उखान मुखमा र छ राष्ट्र प्यार
यो कानले कति सुनोस् बरु चट्कला कि
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी

को हो धनी गरिब को ? रहँदैन जात
मिल्काउने छु गरिबी सब एकनास
भन्छन् तिनी जन भने अझ भट्कला कि
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी

धेरै भए अवधि वर्ष दुई लगाई
फाल्ने भए तुइन ती पुल हाल्नलाई
सुन्दै झरे नदनदी गललल्ल हाँसी
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी

सातै समुद्र अब ल्याउँछु राष्ट्र माझ
क्रीडा गरौँ सब चढौँ जलमा जहाज
देख्दै अचम्मित बनी मुटु पट्कला कि
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी

चट्टानको सुरुङ मार्ग पहाड फोरी
बन्दै छ, रेल अब गुड्दछ चीन जोडी
मेट्रो चढी सरसरी घुम राजधानी
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी

पक्रेर तेत्तिस किलो सुन एक रात
राख्दा अचम्मसँग पित्तल भो प्रभात
मस्तिष्कले बुझिसक्यो बरु सड्कला कि
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी

काण्डै छ वाइडबडी अनि निर्मलाको
होली र वाइनसँगै अझ केक खाको
शङ्का रहेछ प्रहरी सरकारमाथि
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी

हावा छ यो गगनमा बिजुली निकाल्न
फोहोर डङ्गुर छ यो बुझ ग्यास बाल्न
यो देशले चढिसक्यो सय खुट्किला ती
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी

बोके त राष्ट्र शिरमा नगरे त घात
बन्ने छ स्वर्गसरि यो जब मिल्छ साथ
विश्वास घात झुटको छ सदैव खेती
हाँस्दैन राष्ट्र तर सुन्दछ चुट्किला यी ।