गण्डकी प्रदेश संयोजक : रमा खतिवडा

प्रगति पथ

माधव वियोगी
छन्द:मन्दाक्रान्ता

माधव वियोगी

देखेँ मैले प्रगति पथकाे नित्य बिध्वंशलाई
बाङ्गाे,कालाे नियत-रसमा डब्छ जाे आँत पाई
हाेला त्यस्काे विधि नियममा सत्यताकाे निशानी
मैले देख्ने अवसर मिलाेस् दुूधकाे दूध- पानी

ऐले सम्मन् जति पनि बुझेँ चेतनाकाे प्रभाले
साँच्चैं फाेसा सब हुनगयाे माथ आफ्नाे झराले
साथी मेरा निकट नबसे धेर आनन्द मान्छु
एक्लै एक्लै प्रगति पथकाे सार-संसार खिच्छु


सुन्थेँ पैले प्रगति पथले दुष्ट साम्राज्य मार्छ
भाेका, नाङ्गा अबल सबकाे जिन्दगानी सुधार्छ
देखेँ मैले प्रगति पथनै आज हारी रहेकाे
सामन्तीका चरणतलमा लम्पसारै परेकाे


हार्नै नै हाे यदि अब भने हारकै तथ्य खाेलाैँ
जित्ने नै हाे यदि प्रगतिकाे वाद बाेकेर बाेलाैँ
मात्रै हामी धरमर बनी वादकाे दास बन्दा
हाम्राे भाेली असफल भई आउँछन् दीर्घ फन्दा ।

सामन्तीकाे चरणतलमा पर्नुकाे अर्थ
स्वार्थ पैसा पैसा पद, पद भनी उफ्रने मात्र शर्त
यस्ताे चाला भनन कहिलेसम्म चाली रहन्छाै
भाेका,नाङ्गा, दलित जनकाे रक्त खाई रहन्छाै ।

सारा तिम्रै पछिपछि हुने कार्यकर्ता जुटेर
भाला,खुर्पा,घन र खुकुरी, बन्चराले कुटेर
सीमाभन्दा पनि अझ परै क्राेध चाली लखेट्दा
के हाेला त्याे प्रगति पथकाे भावना प्वाट्ट फुट्दा ।

पाेखरा-१७ ,बेलघारी

 

काव्य-कला प्रवाह

पदम दाहाल

छन्द: उपजाति

पदम दाहाल

शोभा छ धेरै तनमा तुनामा
झङ्कृत माया मनको कुनामा
छ लालची लोचन आसमा त्यो
शृङ्गार हो रोचक खासमा त्यो ।

के कल्पना त्यै सुख सिर्जना हो ?
सौन्दर्य के वैभव तिर्सना हो ?
के काव्य धारा लतिका लता हो ?
कि विम्ब त्यो दिव्य कला छटा हो ?

आएर तन्द्रासित खेल तुन्ने
झस्काउँदै प्रेमिल मेल बुन्ने
चुमी दुबै ओठ उठाउने को ?
ल्याई मिठो काव्य चखाउने को ?

पाखा पखेरा वन कुञ्जनेर
फकाउँदै निर्जनमा लगेर
छल्को झझल्को रमिता कुँदेर
सजाउने को कविता बुनेर ?

आँखा खुलून् मानवता उचालून्
दया दिऊन् होस हवास हालून्
समाजका दुर्गति डाह घाहा
बगाइदे काव्य-कला प्रवाह !

निरास हुन् नाश प्रकाश ल्याऊन्
विलाप फाली कवि आस ल्याऊन् !
विचार अग्ला शशिघाम छोऊन्
निस्सारता व्यग्र पखालिदेऊन् ।

नयाँ नेपाल

छविलाल आचार्य

छन्द: शार्दूलविक्रीडित

छविलाल आचार्य

नाङ्गा टार रसाउदै अब यहाँ फुल्ने र झुल्ने गर
आफ्नै बर्कतमा अनेक थरका उद्योग खोल्ने गर
आफ्नै भाइ लडे अनि सडिगए अस्तित्व रेटिन्छ रे !
हाम्रा भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे !

आऊ फर्क युवाहरू अब छिट्टै पाखा पखेरा भर
बाँधी बाँध बनाउँदै झिलिमिली हाम्रा सबैका घर
खन्दै खाडल खोतलौँ धरतिमा चाहे सबै दिन्छ रे !
हाम्रा भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे !

हावामा जलमा छ सूर्य तकमा उर्जा कहाँ छैन र ?
ज्यूने शक्ति सबै यहीँ धरतिमा भेटिन्छ रे हैन र ?
झुक्ने हैन किमार्थ स्वार्थ पनमा झन् रोग बल्झिन्छ रे
आफ्नै भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे !

कस्को के र कहाँ ? अमुल्य प्रतिभा देखिन्छ खोजी गरौँ
भेटिन्छन् यदि क्यै भने मगजमा ल्याएर रोजी गरौँ
आफ्नै पौरखमा रमाउन सिकौँ दासत्व मेटिन्छ रे !
आफ्नै भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे !

छन् सिद्धान्त खुबै तथापि नलडौँ तेरो र मेरो भनी
ढिक्का एक बनी लडौँ अब सखे नेपाल मेरो भनी
आँफैमा भारिपूर्ण छौँ यदि भने अस्तित्व जोगिन्छ रे !
आफ्नै भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे !

झण्डा फर्फर भै रहोस् शिखरमा बैरी बनून् थर्थर
आँटेमा हुनजान्छ झल्मल नयाँ नेपाल हाम्रो घर
पूर्खाका पद चापमा अघि बढे दासत्व मेटिन्छ रे !
आफ्नै भाइ जुटे भने अब नयाँ नेपाल भेटिन्छ रे !

पोखरा १६ कास्की

मन्थन मौनताको

रमा खतिवडा

छन्द निम्ब

रमा खतिवडा

नयन रसिला बनायौ
कहर दिलमै लुकायौ
बह हृदयको नखोली
परपर भयौ नबोली

मलिन अनुहार तिम्रो
अधर पनि देख्छु फुस्रो
टिलपिल भरेर आँखा
कहन सकिनौ गुनासा

दमन घरमा थियो कि?
रहर अधुरै भयो कि?
वचन तिर झैँ बिझे कि?
कुटपिट कतै गरे कि?

थकित तन देख्छु उस्तै
छ सिथिलपना प्रसस्तै
छ कि त कुनै बिमार
भन न मन त्यो नमार

अलिकति समीप आऊ
जलन दिलको हटाऊ
फरक सबका कथा छन्
सुखसित यहाँ व्यथा छन् ।

पोखरा

कालो

अर्जुन शर

छन्द: शार्दूलविक्रीडित

अर्जुन शर

कालोको महिमा सुन्यौ कि सुनिनौ मैले त धेरै सुनेँ
कालोसँग अथाह प्रेम छ भने अर्को छुँदै छुन्न रे
कालो मै बिजुली झिलिक्क हुनु नै त्यो सृष्टिको ढंग रे
घण्टा पित्तलको भए पनि रालो त कालै छ रे

पञ्छी कालिज गौँथली अनि चिबे सारौँ जुरेली चरी
मैना काग उलूक छन् जगतमा प्राणी चमेरो पनि
खुट्टा पुच्छर ढेडुको मुखभरी कालो बसेको हुने
कालो भालु विडाल चील कमिलो ओढार कालो हुने

घोडा खच्चड साँढ हाँस कुखुरा भैँसी र राँगाहरू
दुम्सी मृग बँदेल बङ्गुर खसी बाख्रा परेवाहरू
गाई गोरु सबैजसो पशुहरू कालै हुने वर्ण रे
कालो तुच्छ नसम्झ ए मनुज हो कालो हिरा हुन्छ रे

कालो गोमन या करेत जुन होस् जिब्रो त कालै पर्यो
जिब्रोमै छ घडा कडा जहरले छोयो त मान्छे मर्यो
छोइन्छन् रवि चन्द्रमा ग्रहणले देखिन्छ कालै जिमी
कालो मै बलिदिन्छ काव्य रचना आगो बनी दन्दनी

कालो स्वान्त भुक्यो भने घरघरै बस्ती सुरक्षा हुने
कालो मेघ घुम्यो भने गगनमा आशा झरीको हुने
हुर्कन्छन् बिरुवा वनस्पति सबै कालै भएमा जिमी
कालो मै फुरिदिन्छ काव्य कविको आनन्द लेऊ तिमी

कालो हो बदनाम काम गतिलो गर्दैन मान्छे भने
काँधै थाप्न कहाँ सकिन्छ र सखी हाम्फाल्न खोज्छौ भने
कालो अर्जुन भन्दछन् सब जना कालै भएँ के गरूँ
यो कालो शरको कुनै त्रुटि भए गाण्डीवले खैँचनू

ईश्वर

कपिल किशोर घिमिरे

छन्द:स्कन्दपुराण

कपिल किशोर घिमिरे

ईश्वर बस्छन् सबमा सधैँ
रूप अनेकौं यिनका अझै
बोल्दछ मान्छे जब प्रेमले
मान्दछ राम्रो तब ईशले।

मानिस जो लाग्दछ काममा
पुग्छ उही नै प्रभु धाममा
देव महादेव पुजी सदा
मिल्छ सधैँ धेर खुसी यहाँ ।

सार्थक हुन्छन् मनकामना
कर्म गरेका जनका यहाँ
सोच नराम्रो जसले गर्‍यो
हुन्न भलो ऊ पछि नै पर्‍यो ।

गर्छ कुकर्मै जसले सदा
हुन्न भलो पर्छ धरापमा
हुन्छ अँध्यारो सब जीवन
भोग्छ उसैले अति दु:ख झन् ।

सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू
१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश –रमा खतिवडा
५. लुम्बिनी प्रदेश –स्वर्ण शिखा
६. कर्णाली प्रदेश –जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश–कपिलकिशोर घिमिरे
८.मुलुकबाहिर – प्रभा पोखरेल “फूल”
सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ इमेलः
chhandamalasahityapost@gmai