उधारो जीवन बाँच्ने गर्छु
म यो सहरमा
रित्तो यथार्थ, थोत्रो आदर्श
आत्मियताको खडेरी पर्ने सहरमा
हरेक महिनाको पहिलो दिन
आत्मसम्मान दुख्ने गर्छ

जीवन खोज्न निस्केको म
भविष्य रोज्न निस्केको म
यो बन्द सहरमा
घरको भाडासँगै
साटिएजस्तो लाग्छ
सपना र रहरहरू
प्रत्येक महिनाको घरभाडा
आत्मसम्मानको मोलमोलाई
अर्काको देशमा बाँचेको उधारो जीवन
पैँचो लिएको अस्तित्व
ऋणमा डुबेको आस्था
बासी अनुहारहरू
व्यावसायिक मुस्कानहरू
सेवाको नाममा सुन्दरता पस्किने
महिलाको शरीरलाई
विज्ञापनको साधनको रुपमा
पस्किने व्यापारहरू
जीवनको पैदलयात्रामा
नमिठो ठेस लाग्छ
ठेसमै रमाउन सकिनँ
महत्त्वकांक्षी थिएँ
कल्पनाको सहरमा
रित्तो यथार्थमा पछारिएँ
पैसाले खुसी किन्न निस्केकाहरू
पैसाले सन्तुष्टि किन्न दुस्साहस गर्नेहरू
सक्तैनौ चिन्न एउटा गाउँलेको
हार्दिकताको गीतमा आत्मीय सुसेलीको अर्थ
भावना बिसाउने चौतारी छैन
आत्मियता बाँडी खाने कोसेली छैन
सम्बन्ध जोडिन्छ नाफाको लागि
सम्बन्ध मोडिन्छ स्वार्थका लागि
सुख्खा सहर रित्तो यथार्थ
उच्चाटिलो जीवनशैली; मेरो भविष्य र सपना ।

बर्दघाट-१० नवलपरासी
हाल: ओस्लो, नर्वे