देख्छु किनारमा थुप्रिएका
गिट्टी र बालुवा
जहाँ टेक्छु त्यहीँ बिझाउँछ
मन विचलित हुन्छ
अनि पाइला मोड्छु
प्रकृतिको सुन्दर कुना कन्दरामा
नियाल्दैछन् मेरा आँखाहरू
ढकमक्क फुलेका
लालीगुराँस फूल
काटिएका रुखका हाँगाबाट
मूर्छित भई भुइँमा लडेका
फक्रिन नपाउँदै लुटिएका
कठैबरा ती लालीगुराँस
खोजी रहेछन् मेटिसकेको अस्तित्व
हिँड्दैछु लेकबेँसी
हेर्दैछु डाँफे मुनाल
न महत्त्व न छ संरक्षण
ती पनि लोप भइसकेछन्
अनि …
शान्ति खोज्दै
हिमाल पर्वतमा अडिन्छ मन
त्यहाँ गुनासो उनको पनि!
सबैको पैतालाले
कुल्चिँदा कुल्चिँदा
देशको धरोहर
हिमाल पर्वत पनि
रुष्ट भएछ
मन भारी हुँदै फर्किन्छु
बागमती किनारमा
आफ्नो प्रतिबिम्ब खोज्न
फोहोर मैलोको थुप्रोले
कठै …
बागमती पनि धमिलिएछ
यस्तो लाग्छ साँच्चै
मानवता हराएछ
फेरि …
फर्केर हेर्छु
कुल्चिएको सगरमाथा
लोप भई सकेको डाँफे मुनाल
धमिलिएको बागमती
लुटिएको लालीगुराँस
अनि धिकार्छ आत्माले
उफ् …
सबैभन्दा निर्दयी त
मानिस नै रहेछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।