धौ धौ भैसक्यो
सहज छैन अब पुग्न
बाटो झन् झन् लम्बिदै छ
काबु बाहिर छ
अगुवाले आउँछ आउँछ भन्छ
तर पटक्कै आउन्न
लाग्छ पक्कै गडबडी छ
कसै गरी पुगिन्न
दुविधा छ संशय छ
मार्ग कति बदल्नु
चुचुरोबाट कहाँ फर्किनु
कस्लाई सोध्नु गन्तव्य
अहिलेसम्म हावामा हिँडे छौ
इमानदार परिश्रमी हिम्मतिला
नभेटिएकै हुन्‌
अब अमनचैन असम्भव छ
परिवेश बदलिदै बदलिएन
नयाँ विचार नयाँ ऊर्जा
कामै नलाग्ने बेकम्मा भयो
निरसतामा रस खोजिएछ
बचेखुचेको रस चौकीदार चुसे छ
पुष्प वृक्ष महविहीन पार्दियो
बिचरा माहुरी भुनभुनाएकै छन्
प्रागऐतिहासिक काल सम्झिदै छन्‌
सायद फूलले मह दिन छाड्यो
बदलिदो परिवेश उस्तै छ
केवल भाषा बदलिएको छ
देशकाल परिस्थिति बदलिदै छ
थाँति सपना अकालै तुहेछन्‌
आशा र आँशु उदासी छन्‌
अजस्र आँशु बटुल्दै
लकिरका फकिर भाग्य कोर्छु भन्छन्‌
मानौं ऊ भाग्य फुटाएर
भाग्य कोर्ने सिपालु छ ।

* इमाडोल, ललितपुर,