बर्खामा बाढीसँग खेलेर होली
हिउँदमा घाम तापिरहेको छ बगर
धैर्यलाई बनाएर आफन्त
दुःखलाई बनाउन सकियो भने साथी
अवश्य एकदिन खुसीको फूल
फुलाउँछ समय इन्द्रेणीभन्दा रङ्गीन

खडेरीले सुकाइरहेछ पाखो बारी
बाढीको आक्रान्तमा छटपटाइरहेका छन्
बगर छेउका खेत
इमान्दार सुत्छ भोको पेट
अपचको डरले तर्सिरहेका छन्
कालो धनका भोगी

किनारमा बसेर नियालिरहेकी छु बहाव
जीवन र नदीको
पर्यायवाची लाग्छ मलाई
उस्तै वेग, उस्तै आवेग
उस्तै मिलन अनि उस्तै बिछोड
बगिरहन्छ निरन्तर नदीमा पानी
चलिरहन्छ जीवनमा, समयको सुई ।