नाम ? नाममा के छ त्यस्तो ?
तिम्रो फगत यौटा चिनारी न हो
किनकि तिमीलाई समेत थाह छ
चिनारी अनेक हुन सक्छ तिम्रो
सोध आफैँलाई कसरी चिन्छौ ?
तिम्रो पहिचान चाहिँ के हो खास ?
के भएर तिमी तिमी छौ आज ?
तिम्रो नामले, कामले वा गुणले ?
चिनाउन आफूलाई गाह्रो सबैलाई उस्तै
नाम हो तिमीलाई जुराएको कसैले
सक्छौ चिनाउन तिमी सोधे कसैले ?
नाम थर ठेगाना नभनी तिमी हौ को ?
जात थर तिम्रो समाजले थपिदियो
पद र मान त तिमीले पछि जोड्यौ
तिमीलाई बनाउन अरूभन्दा अलग
त्यसरी के तिमीले आफूलाई पायौ त ?
सोधेजस्तो त गरेँ मैले तिमीलाई
तर जवाफ म पनि सक्दिनँ भन्न
आफूलाई चिनाउन सजिलो छ र ?
कहाँ हुनु गाह्रो छ ‘म’ लाई चिन्न
आठ अर्बमा एक कसरी पो चिनिनु ?
सागरमा थोपो स्व-पहिचान असम्भव
सधैँ खोज सोध आफैँ तिमी ‘म’ को हुँ ?
सम्भव भए बनाऊ आफैँ आत्मप्रतिविम्ब
बाँचेका छन् युगयुग हाम्रा पुर्खा कति
कर्मगरी उठ्न सक्दा नामभन्दा माथि
विस्मृतिमा हराए नाममात्र बाँच्नेहरू
कर्म गर निस्वार्थ बन्छ आफैँ चिनारी।
कोटेश्वर, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।