एउटा दियो
घरको एकछेउको एक कुनामा बलिरहन्छ

दियोमा बाती वर्तन सबै भरिपूर्ण हुँदा पनि
दियो उज्यालो छैन
ऊ आफ्नै खुसीले प्रकाश दिइरहन्छ

घर उज्यालो पार्नुपर्ने दियो
धेरैजसो बाटोतिरै फर्केर बलिरहन्छ
कुनै वेग वा आवेगले घरतिर फर्काए
ऊ रातो कालो हुँदै त्यसै जलिरहन्छ

सायद, अहम्ता कि अहंकार
त्यो बाटोतिर फर्केर
अरुलाई आकर्षित पारेको दियो
घरिघरि मधुरो हुन्छ

दियोमा बाती थप्नेले बाती
वर्तन थप्नेले वर्तन थपिरहे
हावाले निभाउला कि पानीले रुझाउला
भनी विचार गरिरहे
दियोलाई पत्तै छैन
ऊ यता फर्केर बल्न रुचाउँदैन

कहिलेकाहीँ त्यही दियोको सहाराले
अरु सासाना पाला प्रज्वलित गर्न अघि बढ्दा
दियो आवेशमा आउँछ
हावाको वेगले धर्खराएझैँ
पोलुँ कि ? डामुँ कि ? गर्छ…
म नियालिरहेछु एक कुनामा बसेर
दियो आफ्नै सुरले
अरुका लागि बलिरहन्छ
वर्तन थप्नेका लागि जलिरहन्छ

विचरा दियो
वर्तन थप्दा डामुँ कि जसो गर्छ
बाती अलिक माथि सार्दिए पोलुँ कि जसो गर्छ
सधैँ यस्तो गर्ने दियोलाई बल्ने बनाउन
कसलाई के को कर छ ?

तर जे होस्
अस्तित्व गुमाउला कि दियोले भनी
थप्नेले वर्तन र बाती थपिरहेका छन्
डाम्न, पोल्न घरिघरि आउने दियोलाई
आँधी, तुफान, झरी, खडेरीबाट
बचाइरहेका छन् ।