अग्निजलनपूर्व चीर निन्द्रामा सुतेको मृत्युलाई सोध्दैछु
जीवनका विशिष्ट स्मरणहरू के हुन् ?
ऊ सम्झन्छ
आमाको काखमा उफिर्दै चुसेका ती स्तनहरू
को-खाई, को-खाई गरी खुवाएका ती गाँसहरू
आमाकै सारी र पछ्यौरी समाएर पछि पछि कुदेका
ती भिर, जङ्गल, पाखा र बारीहरू
अनि पैतालामा रोपिएका तिखा काँडाहरू
सारी च्यातेर आमाले बाँधिदिएका ती मलमपट्टीहरू

ऊ अझै सम्झन्छ
बाले ब्याज बोकेर किनिदिएका
दसैँका दौरा र कट्टुहरू
चाडबाडमा छुटेका कोदो र सिस्नोका छाकहरू
बाको काँध चढेर छानो र पर्खालविनाको
स्कूल पुगेका पहिला दिनहरू
कुटाइ खाई खाई सिकेका कखरा र दुनाइहरू
स्कुल छोडी काफल र फँडिर खोज्न
दौँतरीसँग हराएका ती वनहरू
तिनैसँग हाम्फालेका खोला र दहहरू
अनि अबेर घर फर्किँदा
खाएका बाका चड्कनहरू

पढ्नलेख्न बाले गरेका अर्ती र गालीहरू
जाँच लेख्न अन्न बेचेर किनिदिएका
चेल्पार्क मसी र टेको फुल्टिंगहरू
म्याट्रिक पासको नम्बर छापिँदा
मुस्कुराएर तन्केका बाका चाउरे गालाहरू
गरी खान सहर पस्दा बाले बाँधिदिएका
ती भारी र गुन्टाहरू
बिदाइका राता टीका र आशीर्वादहरू
भित्रि गोजीबाट बाले झिकेर दिएका
चार थान सयका नोटहरू

म उसलाई फेरि प्रश्न गर्छु
जीवनप्रतिका पश्चत्ताप के छन् ?
ऊ भन्छ
वयस्क जीवनका ती स्वार्थी दिनहरू
आमा-बा बिर्सेका जवानीहरू
रुपियाँ-पैसाको भोकमा कुदेका म्यारथनहरू
बिरामी बा-आमाको उपचार भुलेर
पद र प्रशंसाका भोजमा गरेका चियर्सहरू
भजन मण्डलीका भजनहरू
स्वार्थी झुण्डका चाकरीहरू
मृत्युसैयाका आमा-बालाई
छिमेकीले हालिदिएका सुनपानीका थोपाहरू
अनि मृत्यु सूचनापछि
लास कुराएर खोजेका दागबत्तीका अधिकारहरू

आफ्नै कर्मका श्रापले भोगेका बाँकी जीवनका सजायहरू
छटपटी, पीडा र आर्तनादहरू ।