जमेका छन् मनभित्र
रहरहरू ठप्प ठप्प
पग्लिने आसमा
बसेको छु आजसम्म
ख्वै कस्ले हो
यसैलाई बाँचेको छस् भन्छन्
कसैले यहीँ हो जिन्दगी

म परिभाषा लगाउनेमा छैन
भनौँ लगाउन सक्ने क्षमतामा छैन
म त आफ्नै छायाको चित्र
निधारमा कोर्दाकोर्दै
थाकिसकेको छु
यो थकान नै जिन्दगीको रङ हो भन्छन्
कसैले यही हो बाँच्नुको कला

म उनीहरूको टिप्पणी पछि लाग्दिनँ
तर उनीहरू मेरै पछि लागेका छन्
पाइला सुन्छु र त्रसित रूपले
लुकेको हुन्छ सासै नफेरी
त्यसैलाई अर्थ खोल्छन् बाँच्नुको
कसैले फेरि स्वाद नै यो हो जिन्दगीको

हैरान भएको छु म वास्तवमा
कोलाहल र परम्पराले बाँधिएको
एक विचित्र प्राणीको रूपमा
त्यसैले म भाग्छु आफैँबाट
लोप हुन खोज्छु जिन्दगीबाट
अनकन्टारमा विरोधी बनेर बसेको छु
र गुनगुनाउने गर्छु
राम नाम सत्य हो

यसैलाई एउटा कविले देखे छ
र लेखे छ उसको स्वच्छ पानामा
हिलाम्मे मेरो जिन्दगीको कविता

आफैँलाई देखेँ कविताभित्र
र आन्दोलनको जुलुसबाट
निस्किएर कविताको समुद्रमा
पौडिने गर्छु
कसैले देखे नबचाउनु होला
म जिन्दगीको पछि बल्ल लाग्दै छु ।

म्यान्मार