धरतीको शिर
शून्यतामा झरीको आवाजझैँ
हावाको पिसाईले खुम्चिँदै
फेदीबाट रसाउन थाल्छ

उसले अमृतको वर्षा
आफूमा रोक्न नसकेर
अभिमानको उचाई निचोर्दै
तलाउमा खसाउन थाल्छ

पहाड अहंकारमा रित्तिँदै
अन्जुली धारा समेटेर
खाली मैदानमा झिल
ज्ञानको सानो सागर
गोधुलीमा ज्योतिझैँ
परेली झिम्काउन थाल्दछ

माथिबाट निचोरिनु
आफूलाई झुकाउनु
सकिनु नभएर भरिनु
ओइलाउनु नभएर फुल्नु
ज्ञानामृत बर्साउँदै
धरालाई बोलाउन थाल्दछ

सुकिलो पहाड
आफू खाली भएर
धमिलो भेल र मूल डोऱ्याउँदै
तलाउ र खोलामा निखारे झैँ
सम्पूर्ण सृष्टि धारण गरेको
समुद्रमा लगेर मिलाउँछ

खाली हुनु भरिनुको अन्तरविरोधमा
समयको बहावलाई फेर्दै फेरिँदै
आफूलाई अज्ञात गन्तव्यतिर
ऊर्जाले चलाई रहन्छ

समुद्रले मेघ बनेर
पहाडका पाखाभरि
मधेशका गराभरि
चाहे ती नाङ्गा किन नहुन्
वा हरिया वृक्षलतामय किन नहुन्
थोपा थोपाबाट गलाई दिन्छ

विराटतामा गहनताले
सूक्ष्म लयमा
प्रकृतिको अनुबोधमा
सागरलाई नुघाइदिन्छ

विनयशीलताको प्रेमले
नदी, झरना र नाली
जननीको काखमा सुकाएर
पवनको देशमा
कोशेली बनाइ पठाइदिन्छ

अहा ! ब्रह्मरित !!
व्याप्त ऊर्जा र गतिशीलता
खालीभित्र पूर्णता
पूर्णताभित्र रिक्तता !

कला ! सागर कला !!
जति तल उति गहन
जति गहन उति विशाल
जति विशाल उति विनयी
जति विनयी उति ज्ञानी
जति ज्ञानी उति समर्पित !

ज्ञान सागर !
समर्पणमा सागर
ग्रहण कलामा सागर
वाष्प कलामा सागर
वर्षातमा सागर

गगनभन्दा तल
चोटीभन्दा माथि
वाष्प बनेर सागर
झरी बनेर सागर
झरना बनेर सागर
सागर कला नभएर के हो त ?

वर्षातमा थोपा
खोँचमा पसिना
ओरालीमा खोली
खाडलमा तलाउ
मिलनमा नदी
योग्यतामा महासागर
जलचक्र कला नभएर के हो त ?

जो माथि आवाज र गड्गडाहट
जो तल ऊ शान्त
जो सबैभन्दा माथि ऊ आक्रान्त
जो समानतामा छ ऊ शान्त
प्रज्ञा जस्तै निर्मल

तर चाहनाको ऊर्जा
अज्ञात ज्योतिर्मय यात्रामा
सुस्केराहरूको कोलाहलले
एकदिन थकाई मेट्छ

हो त्यहीबाट
हो त्यही समयको विरोधाभासबाट
जलचक्र, ब्रह्मचक्र बन्दछ
हामी अलमलिन्छौँ
अन्तिम विश्रान्तिको भ्रमले
हामी भ्रमित हुन्छौँ

कहाँ छ ब्रमाण्डमा विश्राम
पुरानो जल
समाधिमा निष्क्रिय कहाँ छ ?
पुरानो हावा
समाधिमा विराम कहाँ छ ?

सुतेको बिरामीको चाल
समुद्रको छालझैँ
चलायमान छ सबैतिर
बिहानीको सूर्य उस्तै देखिए पनि
उही ऊर्जाको प्रकाश कहाँ छ ?

ब्रह्मशील
प्रकृति कला
समुद्र विनयी
सबैभन्दा निम्न स्थान
जहाँ पुग्नका लागि जलको बाटो बन्दछ
जसलाई चुम्नको लागि नदी बहकिन्छ

विनयशीलताको पराकाष्टा
ज्ञानको शितलाकार
सत्यको अनुभव
रुपान्तरणको प्रथम चरण !

प्रेमको अभ्युदय
प्रेम भावना
प्रेम वाष्प
प्रेम समर्पण
त्यहीँबाट शुरु हुन्छ आकाशतर्फको यात्रा

भावमा भावना बनेर
खालीमा भारी बनेर
शुद्धतामा अमृत बनेर
मृत अस्थी झैँ

प्रज्ञा पछिको अर्को अन्त्य हुँदैन
गन्तव्यको कुनै श्रव्य हुँदैन
जीवात्माको प्रकाश नदेखिएझैँ
रुपान्तरणको कुनै दृश्य हुँदैन

आऊ, समाऊ, तलतिरको यात्रा
अहंको गद्दी त्याग र जमिनमा टेक
मिथक त्याग र मस्तिष्क रित्याऊ
गतिको पहिचानमा
एक तपस्वी बन
शून्य बन

ऊर्जाको समर्पणमा समुद्र बन
समयको विरोधाभाषमा पृथ्वी बन
र अन्तमा,
ज्ञानको विशालतामा बुद्ध बन !