म हातमा फूल बोकेर
बाँसुरी फुकिरहेको छु
जीवनको समर्थनमा निरन्तर
सांघातिक समयमा
जीवनकै गीत लेखिरहेको छु
मृत्युका आवरणहरू
क्रमशः च्यात्तै च्यात्तै
अभिमानका ढोलहरु नठोक, नबजाऊ
म स्वाभिमानको नरसिङ्घा बजाउँदै छु
सम्झौता पत्रमा हस्ताक्षर गर्न
इतिहासको कालो छाया
मौका छोपी बसेको छ
नवजात शिशुहरूको सपना लुट्न
आमाहरू शोकमग्न छन्
मृत्यु गीतहरू गाउँदै
आफ्ना रित्ता काखहरू छामेर
म कात्रो बोकेर
लासहरू कुरिरहेको छु
एकाबिहानै घाटहरूमा
मलामीहरू विवश छन्
खुरुखुरु
हरेक बिहान लासहरू बोक्न
क्रुद्ध स्वरमा उर्लन्छन् खहरेहरू
उदास बगरका छातीहरूलाई
चिर्दै, चिर्दै
बगर अभिशप्त छ
बगरेहरू मौन छन्
चुपचाप, चुपचाप
मृत्युका खाताहरू नखोल
जीवनका चिसा जिजीविषाहरू
उद्वेलित नपार
म अमरगाथाका टोकनहरू बाँड्दैछु
पुनः जीवनको समर्थनमा ।
सुन्दरहरैंचा—६, दुलारी, मोरङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला