
जीवनको एक वर्ष आयु घटाउने तिथिलाई
हामी जन्मदिन भनी खुसियाली मनाउँछौँ
शुभकामना दिन्छौँ
शुभकामनाहरू लिन्छौँ
र बितिसकेको वर्ष सम्झेर उत्सव मनाउँछौँ
आफ्नो पुस्तक पट्याएर
पराई पुस्तकको पाना पल्टाउँछौँ
र बलिरहेको मैनबत्ती फुकेर निभाइदिन्छौँ
दीर्घायुको कामना गर्दै
मुलायम रसिलो केक काट्छौँ
र जरामा विषालु केही मलखाद हाल्छौँ
फेरि अर्को दिनबाट
तनबाट छुट्दै गैरहेका कोषहरू
घट्दा न्युरोनहरू सम्झँदै दिक्क मान्छौँ
अब हामीलाई अझै मेहनत गर्नु छ
किनभने कपालको सेतो बढेको छ
र चेहराका चाउरी पनि लुकाउनु जो छ
अरुले नपत्याए पनि
जन्मदिनपछि
उमेरका केही वर्ष पत्याउने गरी ढाकछोप गर्नु पनि छ
जन्मदिनपछि
उमेरको रेखा छोट्टिँदै जान्छ
र चेहरामा तनावको रेखा लम्बिदै जान्छ
जन्म
दिन
पछि !
ब्रिजबन, अस्ट्रेलिया



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
