माहुरीले फूलको रस चोरी रहेछ
मृत्युले जीवितहरूको सास
अनि बाँच्ने आस चोरी रहेछ
समयले जवानी अनि
जवानीले आधुनिकता चोरी रहेछ
आधुनिकताले संस्कृति अनि
संस्कृतिले आधुनिकता चोरी रहेछ
त्यसै गरी
बुद्धिमानले सर्वसाधारणको दिमाग चोरी रहेछ
दिमागले पद, तह र भूगोल नै चोरी रहेछ
र त मानिस चन्द्रमामा बस्न खोजी रहेछ
चोर्ने क्रममै
आर्थिक गरिबीले
इमान्दारी चोरी रहेछ अनि
गाउँ घर चोरी रहेछ
मानसिक गरिबीले
श्रमिकहरुको पसिना, रगत मात्र हैन
विश्वास, भरोसा, आशाका साथसाथै
पचाइसकेको दुर्गन्ध पनि चोरी रहेछ
प्रेमीले प्रेमिकाको मन, दिल चोरी रहेछ
खोलाले तटको माटो चोरी रहेछ
पैसाले गरिब आफन्तहरूसँगको
सम्बन्ध चोरी रहेछ
मोबाइलले सामाजिक सद्भाव चोरी रहेछ
अनि चोरी रहेछ
भलाकुसारी र बैठकको समय
गालीले मान्छेको बोलीको सीमा चोरी रहेछ
कुर्सीले नैतिकता अनि
नैतिक पतनले आस्था
विश्वास, भरोसा
डाकुकै शैलीमा चोरी रहेछ
सहकारी मालिकले पैसा चोरी रहेछ अनि
पैसाले सहकारी मालिकको इज्जत
हुँदा, हुँदा
सर्ट प्यान्टले दौरा सुरुवाल चोरी रहेछ
अनि कुर्ता सुरुवालले चौबन्दी र फरिया
पत्रिकाका हेडलाइनहरूले माननीयहरूको सम्मान चोरी रहेछ
लिपस्टिक पाउडरले स्त्रीको वास्तविक सौन्दर्य चोरी रहेछ
“सुन्दरी” बनाएझैँ
या भनौँ चीलले कुखुरा चोरेझैँ
या त बाघले बाख्रा चोरेझैँ
लाग्छ चोर्ने क्रम चली रहेछ
विगतदेखि वर्तमानसम्म
रावणले सीता चोरेदेखि
पत्रिकाले सम्मान चोरेसम्म
निरन्तर
अविरल
विना विश्राम
विना थकावट!
तर
मनचोरहरूलाई प्रेमीले
जुत्ता चोरहरूलाई पुलिसले
धन चोरहरूलाई कानुनले
वन चोरहरूलाई बनपालेले
वशमा राखिराखे जस्तै
किन
अन्य चोरहरूको ठेगान नलाएको?
खुलमखुला हिँड्न दिइरहेको?
छाती फुकाएर?
कर्तुत लुकाएर?
शिर नझुकाएर?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।