बाबा,म जन्मदा तिमी दङ्ग परेर

मुस्कुरायौ कि मुस्कुराएनौ

मेरो पहिलो च्याँ च्याँरूपी आवाज सुनेर

तिमी नाच्यौ कि नाचेनौ ?

मलाई पहिलो पटक देख्दा

काखमा लिने साहस गर्यौ कि गरेनौ ?

कतै मेरो अनुहारमा तिमीले अरुको छवि त देखेनौ ?

मात्र जान्ने हुटहुटी छ मलाई

त्यो सब थाहा पाउने हक छ मलाई

 

बाबा,तिमीले घर छोड्दा

मेरो रुवाइले तिम्रा खट्टाहरू किन लर्बराएनन्

तिमीले जङ्गलतिर पैतला चाल्दा

मेरी प्यारी आमाकोआँसुले
तिम्रो बाटो किन रोकेनन्

तिमीले हामीलाई बिर्सदा

ताराहरूले तिमीलाई किन सम्झाएनन्

एउटा बाबाले आफ्नो सन्तान बिर्सदा

चन्द्र र सूर्यले बाटो किन रोकेनन् ?

मात्र जान्ने हुटहुटी छ मलाई

त्यो सब थाहा पाउने हक छ मलाई
बाबा,किन तिमीले हाम्रोअस्तित्व बिर्सियौ ?

किन तिमीले सृष्टिको नै अस्तित्व बिर्सियौ ?

सोच त यो संसारमा बच्चाबच्ची नभए कस्तो हुन्थ्यो ?

सोच त संसारमा बाल मुस्कान नभए
विकास र शान्ति कसरी हुन्थ्यो ?
आफ्नो बच्चामा भगवानको रूप देखेनौ ?

घर परिवारको महत्त्व किन तिमीले बुझेनौ ?

तिमीले मलाई श्रम गरेर हुर्काएको भए
म गर्व गर्थेँ तिमीमाथि

 

बाबा,तिमीले घर छोडेकोमा मेरो कुनै गुनासो छैन

तिमीले दरबार छोडेकोमा पनि केही भन्नु छैन

किनकि “बसुधैब कुटुम्बकन” भन्छन्

यो प्यारो धर्तीको कुनै सिमाना छैन

भन्छन् बाबा,दुःख छ तर सुख पनि छ

मृत्यु छ र सुन्दर जीवन पनि छ

तर त्यही प्राकृतिक कुरामा अशान्त हुनुपर्ने केही थियो ?

त्यही बुझ्न घर परिवार छोड्नै पर्थ्यो ?

मात्र जान्ने हुटहुटी छ मलाई

त्यो सब थाहा पाउने हक छ मलाई ।