व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका
जनपसिना, सहिदरगत सबथोक खर्लप्पै खायो
समानता न्याय अपराधीको कठघरामा छ
सुशासन विकास शान्ति भ्रष्टाचारले सजिएको छ
शोषण सर्वोच्च शिखरमा फरफराउँदैछ
समाजवादी ललिपप सीमा पार खै कता छ ?
शिक्षा स्वास्थ्य दलालको ढुकुटी बनेको छ
उपभोग्य वस्तु कमिसनखोर कालोबजार छ
रोजगारी हक विदेशी गल्लीमा भौँतारिँदै छ
समान ज्यालाको हक बकबासमा छ
खाद्य सुरक्षा हक नुनको पोकोमा छ
संघीयता गणतन्त्र नौटङ्की गठबन्धनमा छ
महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक
आदि ईत्यादिको हक कस्तुराझैँ छ
लुछाचुँडी रमिते अगुवा भँडुवाहरू
मिलीभगत गुपचुप भाग लगाउँदै छन्
खैँचाखैँची पूरुस्वार्थ सुतेर फुटेर
बेन्च उठाउँदै ठोक्दै जित्दैछन्
खेतगह्रामा बाँदरले अन्नबाली खोजी खाँदै गरेजस्तै
मन्त्री पद खोसाखोसमा सर्चश्व गुमेको छ
मचिँदै थच्चिँदै घेर्न दगुर्दै छेक्दै समात्दै
ब्वाँसोझैँ कोपर्दै संसदालय प्रशिक्षण बनेको छ
भकुराभकुर कोपराकोपर नङ्ग्रा अनि दाँतले
बर्कतले भ्याउदासम्म कुर्सी बेन्च टेबुल माइक
जङ्गली हिंसक जनावरझैँ सिकार गर्दै छन्
आफू आफूमै अमान्य संस्कार बाँड्दै छन्
मानौं देशी विदेशी सुपारी खाएका एजेन्ट हुन्
जोखना हेर्दै पालो कुर्दै बसेका कुरुवाहरू
झोकमा शोकमा मात्तिएका छन्
कहिले धामी कमाउँदै ज्योतिषी धाउँदै
कहिले बगौलीरलामासँग दाना हेर्दै
कहिले टेलिभिजनमा भविष्य दर्पण सोध्दै
कहिले सडक कहिले सदनमा भूतहरू
सलबलाएका छन् बकबकाएका छन्
निद्राबाट ब्यूँझिएको भोको पवन पुत्रले
रातो पाकेको फल सम्झेर सूर्य निलेझैँ
नेपाली तन्त्र निल्दै छन् पचाउदै छन्
अति भए खती हुन्छ
सावधान
भन्ने पनि त छैनन् नेपथ्यमा
कस्तो अचम्म
फल खस्ला खाउँला भन्दै दिन गन्दै
सडक छाप हुने डरले उनीहरू
झर्ला टिपुँला खाउँला भन्दै
ओत लाग्दै कुरेका कुर्यै छन्
इमाडोल, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।