एन्टन चेखभको कथापात्र
भएको छु म आजकल
समानान्तर रेखाको नियतिमा
टुङ्गिएको एउटा सम्बन्ध
एउटा अतित दुखाएर
आज फेरि बल्झिन खोज्दैछ
मनको कुनै तहमा
त्यो समान दूरीको
गणितीय नियम बिगार्दै
प्रदूषणको आकाशमा
फ्युजन सपनाहरू देख्दै
मोनालिसाको मिस्टिक मुस्कानलाई
चुनौती दिँदै
एउटा सुदूर यात्रामा
आकाशिएका मेरा सपनाहरू
अनौठो रहस्य बनेछ साँच्चै
चुरोटको नीलो धुँवाजस्तो

फेरि देवकोटाको पागल पर्सोना
भएको छु म आजकल
ट्रोजन वार निम्त्याउने हेलेन
मानवको स्वर्ग खोस्ने इभ
अनि त्यत्रो महाभारतको कारण द्रौपदी
समानता खोज्छु म- नारीविरोधी अन्दाजमा

कुनै मनोरम पार्कमा
हरियो चाइनिज दुबोको काखमा पल्टेर
पालैपालो सम्झिन्छु
थुप्रै प्रेमकथाहरु – (दन्त्यकथाहरू)
मुना अनि मदनको
लैला अनि मजनुको
रोमियो अनि जुलियटको
फेरि सम्झन्छु जन् किट्सको
एउटा सम्बोधन कविता
“अड टु नाइटिङ्गेल”

एकान्तको अभाव खट्केपछि
आफूलाई लुकाउँदै
लडिबुडी खेल्दै अघाउन्जेल रुने
एउटा रुन्चे बालक हुन्छु म

अमिलो मह बनाएको छ
मेरो मनको मौरीले
नीला अनि हरिया
सपनाहरूको पराग बटुलेर

नियतिले पस्केको निस्तो भात
सितनबिना नै खाने
खोई किन बानी नै परेन
त्यसैले त भोकै छु म- मायाको

पार्कका गुलाफहरू सोध्छन् मलाई-
“आजकल खोई तेरी प्रेमिका ?”
म भन्न खोज्छु- प्राप्तिमा होइन माया
समर्पणमा गाढा हुन्छ
आदर्शमा माया टाढा हुन्छ

हिमालको हिउँले भन्दा
बढी पोल्दोरहेछ-
मनको हिउँले !
अनि भन्न मन लाग्छ
पुराना भइसके ती प्रेमकथाहरू

अब त लेख्नुपर्छ प्रेमको एउटा
आधुनिक संस्करणको इतिहास
त्यसैले त म लेख्दैछु-
नयाँ अध्याय- प्रेमको।

बर्दघाट नगरपालिका वडा नं.-१०, नवलपरासी
हाल: नर्वे (ओस्लो)