फुल पार्ने बेला भएको कुखुरी झैँ
रातो सिउर लिएर
आश्चर्य भरिएका आँखामा आशा टल्काउँदै
अदृश्य जगतको कल्पनामा
आमा बन्ने उत्कट सपानामा
एउटा खोलेसको आशामा
मायालु नजरले हेर्दै घरधनीलाई
कोट्कोटाउँदै हल्ला गर्छ
नयाँ कवि

नयाँ खोलेस तयार पारिदिन्छ घरधनीले
कुखुरीले पहिलो फुल पार्छे
र फुल पार्ने बित्तिकै बाहिर निस्केर
हर्ष र गर्वको समाचार सुनाउन
कोट्कोटाउँदै फेरि हल्ला गर्छे
तर
उसले अरु फुल पार्न बाँकी नै रहेको हुन्छ
आफ्नो फुलमा प्राण भर्न बाँकी नै रहेको हुन्छ
ठिक त्यस्तै जस्तो कि नयाँ कविको कवितामा
कविले भाव भर्न भने बाँकी नै रहेको हुन्छ

फुल पारेपछि
कवि
लामो समय ओथारो बस्छ
कैयौँ दिनपछि
अचानक भर्के झैँ गरि कोट्कोटाउँदै बाहिर निस्कन्छ
वेग हानेर अलि पर पुग्छ
प्राण बचाउन हो कि झैँ गरि फेरि कोट्कोटाउँछ
जिउ तन्काउँछ र पखेटा फट्फटाउँछ
आहार खोज्छ, खान्छ र फेरि फुलमा गएर बस्छ
उसको सपना र रगत
बिस्तारैबिस्तारै फुलमा पस्छ
उसका कविता
चल्ला कोरलिन भने बाँकी नै हुन्छ

जब कविका
कविताले चल्ला कोरल्छ
तब उसका वाचाल कविताहरू
पाठकसँग त्यसैगरी संवाद गर्छन्
जसरी भर्खरै कोरलिएका चल्लाहरू
आफ्नी प्यारी आमासँग चिउँचिउँ गर्छन् ।