केही थान उनले सङ्गालेका ऊनका डल्लाहरू
काटाहरू
अनि उनले बुन्दै गरेको ऊनको स्वेटर
न्यानो जालिदार ऊनका डल्लाहरू
उनले बडो मज्जाले उनेकी थिइन्
काटाहरू एकआपसमा रगाटिन्थे
कसोकसो उनले बुनेकी थिइन् यो स्वेटर
पालैपालो धागाहरू जेलेर
कहिले दायाँबाट
कहिले बायाँबाट धागाहरूका लहराहरू
तन्काइ तन्काइ बुनिएका थिए
दिमाग, आँखा अनि हातहरू
एकोहोरो चलिरहन्थे उनका
अनि ऊनका पनि
मनमा के चल्थ्यो बुझ्न सक्दैनथेँ म
सायद तुसारो अघि स्वेटर सकाउने चटारो थियो
हिम्मतका ऊनी डल्लाहरू
सङ्घर्षका काटाहरूमा जेलिएर
बुनिएथ्यो सुन्दर सपना
एउटा स्वेटर
कहिले हात छोटो बन्थ्यो
तानतुन ऊन थपेर उनले बराबर पार्थिन्
कहिले घाँटी कसिलो हुन्थ्यो
अड्किन्थ्यो उनको साहस
र उधारेर फराकिलो हृदयले
बन्थिन् फेरि फटाफट उस्तैगरि
बेलाबेला मेला जान्थिन् उनी
ऊन किन्न र पूरा गर्न आफ्नो स्वेटर
यसरी स्वेटर बन्दाबन्दै फतक्क
गलेका थिए उनका हात पाखुरा
र धमिल्लिएका थिए उनका आँखाहरू
हेर्दा हेर्दै ऊनका त्यान्द्राहरू
छल्दा छल्दै काटाका धारिला सिरहरू
यसै बीच
तुसारो पर्दै गर्दा
स्वेटर पूरा हुनै लाग्दा
बोलाएथ्यो कसैले
जानैपर्ने गरी
उनी दौडिएथिन बोलाए तिर बौलाहा जस्तैगरि
स्वेटरको घाँटी बुन्दै गर्दा
काटाहरूको चेपैबाट उम्किएर
काटाहरू स्वेटरसँगै असरल्ल थिए
बिसुद्धीले उनीसँगै अल्झियो एउटा त्यान्द्रो
उनले आफ्नै पोल्टोमा अल्झाइ राखेको ऊनको
कसैले बोलाइराख्यो, जानैपर्ने गरी
उनी बोलावट पछ्याइरहिन्
ऊनको त्यान्द्रो उनलाई पछ्याइरह्यो …
विचरो स्वेटर घाँटी कस्सिदै उध्रिरह्यो ।
हेटौँडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।