ए छोडी जाने माया
तिमी जान त गयौ
मन यतै छोडेर गयौ
सम्झनाहरू यतै छोडेर गयौ
तिमी बादलपारि
म वारि
टाढा भएर के भो त
तिम्रो मन मसित छ
मेरो मन तिमीसित
यादहरू हामीसँगै छन्
अनि हामीसँगै छन्
हिँडेका बाटाहरू
डुलेका पाखाहरू
रोएका रातहरू
हाँसेका दिनहरू
अनि एकअर्कालाई सम्झेर
टोलाएका साँझहरू
प्रेमको निशानी स्वरूप
मैले तिमीलाई वसन्तमा दिएको रातो गुराँस
ओइलिएर जाला कतै
मनमा फुलिरहने छ मायाको चिमाल
औँठी चिनो हराएर जाला कतै
मेटिने छैन मुटुमा खिपेको नाम
तिमीबिना
रात बिरानो बनेर आउने छ
म तिमीलाई जूनमा खोज्नेछु
दिन मलिनो बनेर आउने छ
म तिमीलाई बादलमा खोज्नेछु
एकान्त पँधेरी रुने छ कतै
म तिमीलाई झरीमा खोज्नेछु
पर्खिरहने छु माया
सात समुद्र पारिदेखि
तिमीलाई छोएर आउने बतासको प्रेमिल स्पर्श
याद गरिरहनेछु सधैँ
तिम्रो मायालु हेराइ
ओछ्यानको चुलबुल
ओठको नशालु चुम्बन
न्यानो आलिङ्गन
र मैले खेलाएका तिम्रा सुकुमार औँलाहरू
आखिर सम्बन्धहरू
केवल यादमा त बाँच्दा रहेछन्
जिन्दगी भन्नु
यादहरूको पहाड त रहेछ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला