आँखामा आँशु सुकिसके
त्यसैले झर्दैनन् अब आँशुहरू
हैन हैन किन नझर्नु
एकान्तमा बरर्र झरी रहन्छन्
वर्षाको बलेसी जस्तोगरी
बेतोडले खसी रहन्छन्
आँखामा मात्र सकिएका हुन्
शरीरका अङ्गअङ्गमा छन्
पोखिई रहन्छन् यहाँ आँशु
झरेर सकिदैनन्
व्यर्थमा आँखाले मात्र
बन्द गरी दिएछ
आँशु झर्ने बाटाहरू
खहरे खोला पनि सुक्नु पर्छ
आँशु रोकिन त
कलकल बग्दै गरेको नदी पनि
एकै छिन रोकिनु पर्छ
अनि रुखका पातहरू पनि
चल्मलाउन छोड्नु पर्छ
आँशु हेर्नलाई
त्यसैले रोकेर रोकिदो रहेनछ
मान्छेको आँशु
झरेर सकिदो रहेनछ
मान्छेको आँशु
प्रत्येक पलपलमा सिर्जना हुन्छन्
मान्छेका आँशु
अनि कसरी रोकिन्छ र ?
मान्छेको आँशु
झरी नै रहन्छन्
झरीनै रहन्छन्
मान्छेका आँशुहरू ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला